सडक नै नभएको ठाउँमा पुल बनेपछि… तत्कालिन सचिवविरुद्ध मुद्दा दायर

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रालयका तत्कालीन सचिव ईश्वरचन्द्र मरहट्टाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

गोरखा नगरपालिका–३ जरेवरस्थित दरौदी नदीमाथि बाटो नभएको स्थानमा पुल राखेर जनताको करको पैसा दुरुपयोग गरेको भन्ने उजुरीका आधारमा आयोगले छानबिन गरेको थियो ।

सडक निर्माण नै नभएको स्थानमा खेतका बीचमा पुल मात्रै निर्माण भएको भन्दै विभिन्न सञ्चारमाध्यममा समेत चौतर्फी आलोचना भएको थियो ।

आयोगले गरेको छानबिनका आधारमा सचिव मरहट्टा दोषी देखिएको आरोप लगाउँदै आयोगले मुद्दा दायर गरेको हो । आयोगले तत्कालीन सचिवविरुद्ध रु पाँच करोड ४५ लाख ५२ हजार छ सय ७१ बराबरको बिगो दाबी गरेको छ ।

यस्तै, आयोगले गण्डकी प्रदेशअन्तर्गत प्रदेश सडक निर्देशनालयका तत्कालीन निमित्त निर्देशक रामकुमार श्रेष्ठ काल्पनिक सडक नाम दिई दरौदी खोलामा पुलको डिजाइन पेस गरेको अभियोगमा रु पाँच लाख ७१ हजार सात सय ८० बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।

पूर्वाधार विकास कार्यालय गोरखाका सिनियर डिभिजनल इञ्जिनियर ओमराज ढुङ्गानाविरुद्ध भने भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा आठबमोजिम कारबाहीको माग गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.