राष्ट्रियसभा बैठक : छुवाछूत र विभेद अन्त्य गर्न माग

काठमाडौँ- राष्ट्रियसभाको आजको बैठकमा सांसदले मुलुकको समसामयिक राजनीतिक तथा सामाजिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकको शून्य समयमा उहाँहरुले समाजमा छोरी असुरक्षित रहेको र मानव तस्करको कब्जामा परिरहेकाले अपराधीलाई कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो । सांसद अनिता देवकोटाले छोरीहरु समाजमा असुरक्षित रहेको, उनीहरुको जीवन जोखिममा परेको र मुलुक मानव तस्करको केन्द्र बन्दै गएकामा चिन्ता व्यक्त गर्दै यसतर्फ सरकारको ध्यान जाओस् भन्नुभयो ।

सांसद कुमार दसौदीले आफूलाई राष्ट्रिय सभासदस्यमा निर्वाचित गराएकामा लुम्बिनी प्रदेशसभाका सदस्य, स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई धन्यवाद दिनुभयो ।

सांसद खिमलाल देवकोटाले त्रिभुवन विश्वविद्यालयमा देखिएको बेथितीलाई अन्त्य गर्न तत्काल स्पष्ट सुधारको कार्यतालिका ल्याउन सरकारको ध्यानकर्षण गराउनुभयो । उहाँले कास्कीको फेवाताल वरपर भइरहेको मानव अतिक्रमण र डोजरको प्रयोग तत्काल रोक्न माग गर्नुभयो ।

सांसद दिलकुमारी रावल थापाले स्वास्थ्य सेवा प्रवाहमा ध्यान दिन र स्वास्थ्य क्षेत्रमा रणनीतिक योजना बनाएर लागू गर्न, सुर्तीजन्य पदार्थको बिक्री वितरणमा समेत नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो । सांसद नन्द चपाईले मुलुकभित्र नागरिकता र सुकुम्बासीको समस्या विकराल रहेको समस्या समाधानका लागि आग्रह गर्नुभयो ।
सांसद प्रकाश पन्थले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिमा रामचन्द्र पौडेलले र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित हुनुभएकामा धन्यवाद दिनुभयो ।
सांसद विमला राई पौड्यालले नागरिकको स्वतन्त्रतापूर्वक बोल्न पाउने हक तथा अधिकारविपरीत प्रहरीले गतिविधि गरेको जनाउँदै किन त्यसो भएको हो गृह मन्त्रालयले उचित जवाफ दिन माग गर्नुभयो ।

सांसद सिंहबहादुर विश्वकर्माले सिरहाको एक स्थानीय तहका प्रमुखले दलित समुदायमाथि छुवाछूत र विभेद गरेको भन्ने घटनाप्रति दुःख व्यक्त गर्दै कानुनअनुसार कारबाहीका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.