छ बुँदे सहमतिपछि चिकित्सक र कर्मचारीले गर्दै आएको अन्दोलनका कार्यक्रम फिर्ता 

काठमाडौं- निजामती कर्मचारी अस्पताल र आन्दोलनरत रहेका चिकित्सक/कर्मचारीबीच छ बुँदे सहमति भएको छ । सहमतिपछि चिकित्सक र कर्मचारीले गर्दै आएको अन्दोलनका कार्यक्रम सबै फिर्ता भएको अस्पतालका उपसचिव कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो । उहाँले आजैदेखि अस्पताल प्रशासनमा लगाइएको ताला र चिकित्सक/कर्मचारीले गर्दै आएको अनशन पनि तोडिएको बताउनुभयो ।

उहाँका अनुसार निजामती कर्मचारी अस्पताल (कर्मचारीको सेवाका सर्त र सुविधा) विनियमावली र निजामती कर्मचारी अस्पतालको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणमा आवश्यक संशोधन तथा परिमार्जन चिकित्सक, कर्मचारी र कर्मचारी युनियनको प्रतिनिधित्वमा एक महिनाभित्र पेस गर्ने, अस्पतालको समग्र गुणस्तर सुधारका लागि सबै पक्षको सहभागी गराउने, ज्यालादारीमा कार्यरत कर्मचारीको सम्बन्धमा कार्यरत कर्मचारीलाई प्राथमिकतामा राखी स्वीकृत करार कार्यविधि, २०७८ अनुसार स्वीकृत दरबन्दीमा पदपूर्ति प्रक्रिया अगाडि बढाउने सहमति भएको छ ।

यस्तै अस्पतालको समग्र गुणस्तर, वित्तीय स्थिति, जनशक्ति योजना, कर्मचारीको हित र उत्प्रेरणासमेतलाई दृष्टिगत गरी अस्पताल व्यवस्थापन चिकित्सक र कर्मचारी सम्मिलित समितिको प्रतिवेदनका आधारमा स्वीकृत करार कार्यविधिबमोजिम हाल करारमा कार्यरत (परीक्षामा सहभागी नहुनेसमेत) चिकित्सक/कर्मचारीलाई प्राथमिकता दिई सेवाको सुनिश्चिता गर्न निजामती कर्मचारी अस्पताल विकास समितिमा पेस गर्ने पनि सहमति भएको छ ।

यस्तै अस्पतालको समग्र गुणस्तर, सेवाप्रवाहमा सुधार र सेवाप्रवाहमा निरन्तरता दिने एवं निजामती कर्मचारी मैत्री अस्पतालमा रूपान्तरण गर्न ऐक्यबद्धता जारी गर्ने सहमति भएको छ । अस्पतालमा केही दिनदेखि चिकित्सक, कर्मचारीले विभिन्न छ बुँदे माग राखी अनशन बस्दै अस्पताल प्रशासनमा तालाबन्दी गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.