तनहुँ उपनिर्वाचनः पाँचवटा वडाको मतगणना हुँदा रास्वपाका वाग्लेलाई दोब्बर बढी मतको अग्रता

तनहुँ- तनहुँ क्षेत्र नम्बर १ मा भएको प्रतिनिधि सभा उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले फराकिलो अन्तरले अग्रता लिनुभएको छ ।

सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका गोविन्द भट्टराई २ हजार ३ सय ७० मत अन्तरले पछि पार्दै वाग्लेले अग्रता लिइरहनु भएको हो ।

आज बिहानसम्म पाँचवटा वडाको मतगणना हुँदा वाग्लेले ४ हजार ३ सय ३ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका गोविन्द भट्टराईले १ हजार ९ सय ३३ र नेकपा एमालेका सर्वेन्द्र खनालले १ हजार १ सय ९८ मत प्राप्त गर्नुभएको छ ।

गएरातिदेखि सुरु भएको तनहुँको मतगणना जिल्ला समन्वय समितिको कार्यालय दमौलीमा भइरहेको छ । कांग्रेसका भट्टराईलाई माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी लगायतको समर्थन थियो ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा तनहुँ १ मा नेपाली कांग्रेस विजयी भएको थियो । रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित बनेपछि तनहुँमा उपनिर्वाचन भएको हो ।

यसैबीच चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ मा आजदेखि मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.