बर्षाका कारण नेपाल र यूएईबीचको फाइनल खेल स्थगित
आज रोकिएकै अवस्थाबाट भोलि बिहान ९ बजेदेखि खेल हुने
काठमाडौँ- एसीसी मेन्स प्रिमियर लिग क्रिकेटमा नेपाल र युएईबीच फाइनल खेल वर्षाका कारण स्थगित भएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइलन खेल वर्षाका कारण प्रभावित बनेपछि भोलिका लागि सारिएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार भोलि हुने खेल आजकै निरन्तरता हुनेछ र आज रोकिएकै ओभरबाट भोलि विहान ९ बजेदेखि खेल सुरु हुनेछ ।
आजको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७ दशमलव ३ ओभरमा ९ विकेटका क्षतिमा १०६ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो । त्यसपछि लगातार वर्षा भएपछि खेल हुन सकेन र भोलिसम्मका लागि स्थगित भएको हो ।
खेल रोकिनुअघि युएईका लागि आसिफ खानले सर्वाधिक ४६ रन बनाएका थिए ।
उनले ५४ बल खेल्दै एक छकका र सात चौका प्रहार गरे ।
त्यस्तै आर्यन लाक्राले १३, मोहम्मद वासिमले ११ र बसिर हमिदले १० बनाए ।नेपालका लागि ललित राजबंशीले तीन विकेट लिएका थिए भने करण केसी र सन्दीप लामिछानेले दुई-दुई विकेट लिए ।
त्यस्तै गुल्शन झा र सोमपाल कामीका नाममा एक ÷एक विकेट रहयो ।
यसअघि नेपाल समूह ‘ए’ को विजेता बन्दै फाइनलमा पुगेको थियो ।
सेमिफाइनलमा कुवेतसँगको खेल वर्षाको कारण नतिजाविहीन भएपछि नेपाल समूह विजेताका रुपमा फाइनलमा पुगेको हो । साथै युएईले सेमिफाइनल खेलमा ओमानलाई दुई रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।।
प्रतिक्रिया राख्नुहोस्