नेपाल टेलिभिजनबाट ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ कार्यक्रम प्रसारण हुने
काठमाडौँ- नेपाल टेलिभिजनले ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ कार्यक्रम प्रसारण गर्ने भएको छ । विश्वका ५२ भन्दा बढी देशबाट प्रतियोगितामा सहभागीमध्ये छनोट भएका गायनका ५० र नृत्यका ५० प्रतियोगीले आफ्नो प्रस्तुतिमार्फत आगामी यात्रा तय गर्नेछन् ।
नेपाल टेलिभिजनमा बुधबार र बिहीबार ‘मेरो भ्वाइस युनिभर्स’ बेलुकी ८ः५० बजेदेखि प्रसारण हुनेछ ।
त्यसैगरी, नृत्यसँग सम्बन्धित ‘मेरो डान्स युनिभर्स’ एनटिभी प्लसमा शुक्रबार र शनिबार बेलुकी ८ बजे प्रसारण हुनेछ । दुवै सोहरू तीस-तीस भाग (एपिसोड)का हुनेछन ।
नेपाली मूलका भूटानी अमेरिकी युवा व्यवसायीले नेपाली भाषा, कला र संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरेको इन्ट्रा–नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले विश्वमा बसोबास गरिरहेका नेपालीहरुबीच सांस्कृतिक एकता कायम गर्न गायन र नृत्यका यी दुई प्रतियोगिताको आयोजना गरेको हो ।
गायन रियालिटी सो ‘मेरो भ्वाइस युनिभर्स’ का निर्णायकमा गायक दीप श्रेष्ठ, सङ्गीतकार सुरेश अधिकारी, पुष्पन प्रधान, गायिका अञ्जु पन्त र सुजाता वर्मा हुनुहुन्छ ।
यसैगरी, नृत्यतर्फको निर्णायकमा अभिनेत्री मिथिला शर्मा, नृत्यकार शङ्कर विसी, अभिनेता दिलीप रायमाझी, अभिनेत्री केकी अधिकारी र प्रियङ्का कार्की तथा नरमान राई हुनुहुन्छ ।
यी कार्यक्रमको प्रस्तोतामा अभिनेत्री रिमा विश्वकर्मा, कलाकार सन्दीप क्षेत्री, सञ्चारकर्मी नरेश भट्टराई र सुनिता गुरुङ हुनुहुन्छ ।
नेपालमा आयोजना भएका रियालिटी शो मध्ये यी शोमा अहिलेसम्मकै सबैभन्दा धेरै राशिको पुरस्कारको व्यवस्था गरिएको छ ।
गायन र नृत्य गरी दुवैतर्फ प्रतियोगितामा छानिएका प्रथम हुनेले जनही रु एक करोड, दोस्रो हुनेले रु ३० लाख र तृतीय हुनेले रु २० लाख पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, समूह नृत्यका विजेतालाई पनि आकर्षक पुरस्कारको व्यवस्था छ ।
संसारभरबाट आएका नेपालीभाषी प्रतिभाहरुबीच गत महिनादेखि काठमाडौँमा भएका विभिन्न साइट्लेस अडिसनबाट यी प्रतिभा छानिएका हुन् ।
नेपाल टेलिभिजनले दुवै ‘शो’ मा मिडिया पार्टनरका रूपमा सहकार्य गरेको छ ।
यसैबीच, नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ कार्यक्रममार्फत विश्वभर छरिएर रहेका नेपालीमाझ आफ्नो कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न प्रोत्साहन पुग्ने नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजंग शाहको भनाइ छ ।
नेपाली भाषा र कला तथा संस्कृतिको जगेर्ना गर्ने राष्ट्रिय दायित्वबोध गरेर नेपाल टेलिभिजनले यी दुबै कार्यक्रम दर्शकमाझ ल्याउन लागेको कार्यकारी अध्यक्ष शाहले जानकारी दिनुभयो ।
अध्यक्ष शाहका अनुसार नेपाल टेलिभिजनले आफ्नो परम्परागत शैली र आम नेपालीको विश्वासलाई कायम गर्दै नयाँ र पुराना पुस्ताबीचको सम्बन्धलाई कला र संस्कृतिमार्फत जोड्ने प्रयास गरेको पनि उल्लेख गर्नुभयो ।
यसैगरी, नेपाली भाषा, कला तथा मौलिक संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको यस कार्यक्रमलाई विश्वमा रहेका बढीभन्दा बढी नेपालीसम्म पुर्याउने उदेश्य रहेको नेपाल टेलिभिजनका महाप्रवन्धक फूलमान बलले जानकारी दिनुभयो ।
यो कार्यक्रमले विश्वभर रहेका नेपालीलाई एउटै मञ्चमा ल्याउन सफल भएको र यसका विजेताले आकर्षक राशिको पुरस्कार पाउने महाप्रवन्धक बलले बताउनुभएको छ।।
प्रतिक्रिया राख्नुहोस्