गुल्मीमा हवाई सेवाको पहिलो चरणमै यात्रुको चाप
गुल्मी- गुल्मीबाट हवाई सेवा सुरु भइरहँदा पहिलो चरणमै यात्रुको निकै चाप बढेको छ । १८ सिटे क्षमताको जहाज भएपनि यहाँबाट ६० देखि ७० जना सम्मका यात्रुले सिटको माग गरेको रेसुङ्गा नगरपालिकाले जनाएको छ । यहाँबाट अर्को शुक्रबार सम्म पनि आउने जाने यात्रुका लागि टिकट बुकिङ्ङ गरिसकेका छन् ।
रेसुङ्गा नगरपालिकाले विमानस्थलको व्यवस्थापन र यात्रुको चाप बढेपछि हप्तामा दुई दिन उडानको लागि आग्रह गरेको नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताउनुभयो । रेसुङ्गा विमानस्थलमा नियमित उडानका लागि रेसुङ्गा विमानस्थलले व्यवस्थापनको काम गर्दै आएको छ ।
गत शुक्रबारदेखि नेपाल वायुसेवा निगमको जहाजले नियमित उडान थालेपछि नगरपालिकाले विमानस्थलमा यात्रुको सहजताको लागि थप व्यवस्थापन गरेको छ ।
यसअघि विमानस्थलमा नियमित उडान सुरु भएपनि विमानस्थलको व्यवस्थापन भने बाँकी रहेको थियो । एयर कन्ट्रोलरको लागि आवश्यक व्यस्थापन, यात्रुको लागि प्रतिक्षालयको सहज व्यवस्थापन, शौचालयको व्यवस्थापन, यात्रु प्रस्थान र बहिर्गमनको लागि सहज व्यवस्थापन गरिएको छ ।
सम्भावित जोखिम न्यूनीकरणको लागि दमकल र एम्बुलेन्सको व्यवस्थापन लगायतका विभिन्न व्यवस्थापन विमानस्थलमा रेसुङ्गा नगरपालिकाले गरेको हो । रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमले व्यवसायिक उडान सुरुगरेसँगै गुल्मी जिल्लाबाट काठमाडौंसम्म पुग्ने १३ घण्टाको यात्रा करिव एक घण्टामा सीमित भएको छ ।
विमानस्थलबाट हप्ताको एक दिन शुक्रवार उडान हुनेछ । नागरिक उड्डयन प्राधिकरणले हप्ताको दुई दिन उडान गर्ने स्वीकृत दिएपनि सुरुमा हप्ताको एक दिन मात्रै उडान हुने भएको छ ।
यात्रुको चाप हेरिकन र साना जहाजको कमी भएकोले पनि सुरुमा हप्ताको एक दिन मात्रै उडान हुनेभएको हो । काठमाडौंबाट झण्डै एक दिने यात्रा गरेर आउ–जाउ गर्नुपर्ने बाध्यतामा रहेका नागरिकहरु जिल्लाबाटै नियमित उडान हुन थालेपछि हर्षित छन् ।
रेसुङ्गा विमानस्थलबाट काठमाडौं सम्मको शुल्क प्रतिव्यक्ति ६ हजार ३ सय रुपैयाँ लाग्नेछ । त्यस्तै काठमाडौंबाट रेसुङ्गा विमानस्थलसम्म ६ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
काठमाडौंबाट रेसुङ्गा विमानस्थलका लागि बिहान ६ बजेर ३० मिनेटमा जहाज उडान हुने र बिहान ७ बजेर ४५ मिनेटमा रेसुङ्गा विमानस्थलबाट काठमाडौं फर्किने समय तालिका रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्