वीरगञ्जमा पहिलो दिन सय जनाले लिए नयाँ नागरिकता

पर्सा- जिल्ला प्रशासन कार्यालय पर्सामा नयाँ नागरिकता वितरण सुरु भएको छ । राष्ट्रपतिले प्रमाणिकरण गरेको नयाँ नागरिकता ऐनअनुसार पर्सामा नागरिकता वितरण कार्य सुरु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालय पर्साले गत जेठ २१ गतेनै सुचना निकालेर जेठ २२ गतेदेखि नै नयाँ नागरिकता ऐनअनुसार नागरिकता वितरण गरिने जनाएको भएपनि ऐनविरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि नागरिकता वितरण सुरु नहुँदै स्थगित भएको थियो ।

बिहीबार सर्वोच्च अदालतले नागरिकता ऐनको संशोधित व्यवस्था कार्यान्वयन नगर्न यसअघि जारी गरेको अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश दिएपछि नयाँ नागरिकता ऐन कार्यान्वयनको
बाटो खुल्ला भएको हो ।

जिल्ला प्रशासन कार्यालय पर्साले नयाँ नागरिकता ऐनअनुसार जन्मसिद्ध नागरिकका सन्तानसहितका नागरिकता विहीनहरुलाई नागरिकता वितरण कार्य सुरु भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताउनु भएको छ । पहिलो दिन हिजो एक सय जनाले नागरिकता पाएको पनी प्रजिअ पौडेलले जानकारी दिनुभयो ।

जेठ २१ गते जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको सूचनामा उल्लेख गरिएका कागजातहरु लिएर कार्यालयमा सम्पर्क गर्न लक्षित सेवाग्राहीलाई आग्रह पनि गरिएको छ ।

जन्मसिद्ध नागरिकको सन्तानको हकमा बुवा आमा दुवैको सक्कल नेपाली नागरिकता र त्यसको प्रतिलिपि वडा अध्यक्षको सिफारिस सहितको अनुसूची र फारम, सक्कल जन्मदर्ता र शैक्षिक योग्यताको प्रमाणपत्र बाबु, आमा सन्तानबिचका फोटोसहितको सक्कल प्रमाणित, बसाइसराइ गरी आएकोहरुको हकमा बसाइसराइको प्रमाणपत्र लगायतका कागजातहरु अनिवार्य रुपमा लिएर कार्यालयमा आउन सुचना जारी गरिएको छ ।

नागकिरता वितरणका लागि वडा कार्यालयलाई सिफारिस गरिदिन जिल्ला प्रशासन कार्यालयले सबै पालिकालाई पत्राचार गरिसकेको जिल्ला प्रशासन कार्यालय पर्सा श्रोतले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.