गोरखामा धनसार भत्किँदा मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो

गोरखा- गोरखाको गण्डकी गाउँपालिका–४ पाटापाटीमा धनसार भत्किएर मुत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । मंगलबार बिहान स्थानीय जगतबहादुर बरामको बनाउँदै गरेको धनसार भत्किएर गम्भीर घाइते हुनुभएका ६५ वर्षीय रामकृष्ण बरामको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

गम्भीर घाइते हुनुभएका बरामको काठमाडौँको ट्रमा सेन्टरमा उपचारका क्रममा मंगलबार साँझ मृत्यु भएको उहाँले बताउनुभयो । मृतक रामकृष्ण धनसार बनाउनका लागि जगबहादुरको घरमा मेला आउनुभएको थियो ।

दुर्घटनामा घरधनी जगतबहादुरकी श्रीमती ४५ वर्षीया मीना बरामको भने घटनास्थलमा नै मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका दुई जनाको अवस्था भने सामान्य रहेको उहाँले बताउनुभयो ।

घाइते हुनेमा मृतक मीनाका श्रीमान् ४५ वर्षीय जगतबहादुर बराम, २१ वर्षीय छोरा सुजन बराम रहनुभएको प्रनाउ श्रेष्ठले जानकारी दिनुभयो ।

घटनाको जानकारी पाएलगत्तै ताङ्लीचोक प्रहरीचौकीबाट प्रहरीको टोली घटनास्थलमा पुगेर घाइतेको उद्धार गरेको थियो । घटनाको थप अनुसन्धान सुरु गरिएको प्रनाउ श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.