नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ ।
मौद्रिक नीति सार्वजनिक गर्नका लागि राष्ट्र बैंकले दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना गर्दैछ ।
आज विहान बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले चालु आवको मौद्रिक नीति पारित गरेको थियो ।
समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप बिस्तारमा सहयोग पुर्याउन देशको केन्द्रीय बैंकले तर्जुमा गर्ने नीति नै मौद्रिक नीति हो ।
अर्थतन्त्रमा देखिएको शिथिलता हटाई आर्थिक गतिविधि सुधारमा सघाउने र वित्तीय स्थायित्व कायम गर्ने प्रमुख चुनौतीका वीच नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्षको मौद्रिक नीतिको अन्तिम तयारीमा छ ।
विगतमा आयात प्रतिबन्ध, नगद मार्जिन लगायत विभिन्न नीतिगत कडाइ र रेमिट्यान्समा भएको सुधारका कारण यतिबेला अर्थतन्त्रका बाह्य सूचक बलियो अवस्थामा छन् ।
सुधारका उपलब्धि फेरि नबिग्रिने र सम्भव भएसम्म सुस्ताएको आर्थिक गतिविधि विस्तारै चलायमान गराउने केही नीतिसहित आज राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दैछ ।
अघिल्लो आर्थिक वर्ष निजी क्षेत्रमा लक्ष्यभन्दा बढी र गत वर्ष लक्ष्यभन्दा धेरै कम कर्जा प्रवाह भएको थियो । यस वर्ष राष्ट्र बैंकले निजी क्षेत्रतर्फ कर्जा विस्तारको लक्ष्य नघटाए पनि धेरै बढाउने पक्षमा देखिएको छैन ।
यस बर्ष बढीमा १२ देखि १३ प्रतिशत सम्म प्रवाह हुने सम्भावना छ । आर्थिक वृद्धिमा योगदान पुर्याओस् भन्ने उद्देश्यले राष्ट्र बैंकले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को विस्तार बराबर नै कर्जा विस्तार गर्ने घोषणा यसअघि नै गरि सकेको छ ।
निजी क्षेत्रले मागे जस्तो लचिलो मौद्रिक नीति ल्याउने बेला नभएकाले आवश्यकता अनुसार नीतिगत दर हेरफेर हुन सक्ने संभावना छ ।
अहिले अरु नीति नचलाए पनि वित्तीय प्रणालीमा तरलता अवस्था सहज रहेकाले बैंक दर भने केही घट्न सक्ने अनुमान गरिएको छ ।
अनिवार्य नगद मौज्दात सीआरआर र कर्जा निक्षेप अनुपात सिडी रेसियो परिवर्तनको सम्भावना न्यून रहेको छ ।।
प्रतिक्रिया राख्नुहोस्