पाँच दिनमै एक हजार बढी डेंङ्गी संक्रमित, कोशी प्रदेशमा डेङ्गी नियन्त्रणमा चुनौती
काठमाडौं- डेङ्गी भाइरसको सङ्क्रमण पाँच हजारभन्दा बढीमा देखिएको छ । तीमध्ये आधा जति सुनसरी जिल्लामा देखिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीका अनुसार गत पुसयता मात्र पाँच हजार छ सय ८८ जनामा सङ्क्रमण देखिएको छ । सबैभन्दा बढी सुनसरी जिल्लामा तीन हजार चार सय ८६ जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ ।
उहाँले लगातार परिरहेको पानीले गर्दा र सरसफाइमा ध्यान नदिँदा सङ्क्रमण दैनिक बढिरहेको बताउनुभयो । यसपटक कोशी प्रदेशमा सबैभन्दा बढी सङ्क्रमण बढेको पाइएको छ ।
नयाँ देखिएका बिरामीमध्ये चार हजार नौ सय ३९ अर्थात् ८७ प्रतिशत बिरामी १० जिल्लाका रहेका छन् । नेपालमा पहिलो पटक सन् २००४ मा एक जनामा डेङ्गी देखिएको थियो ।
मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ । अहिलेसम्म डेङ्गी सङ्क्रमण ७० जिल्लामा पुगेको छ ।
प्रतिक्रिया राख्नुहोस्