माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको हकप्रद सेयरको आवेदन खुला गरिने

दोलखा- दोलखामा निर्माण सम्पन्न भएको चार सय ५६ मेगावाट क्षमता रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको हकप्रद सेयरको आवेदन भदौ १८ गतेदेखि खुला गरिएको छ ।

राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण गरेर सञ्चालनमा ल्याइएको अपर तामाकोशी हाइड्रोपावर कम्पनीले भदौ १८ गतेदेखि हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात १०० प्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । कम्पनीले आज सूचना जारी गर्दै १:१ को अनुपात अर्थात विद्यमान १ कित्ता साधारण सेयरका दरले सेयरधनीका लागि आगामी भदौ १८ गतेदेखि असोज ७ गतेसम्म आवेदन खुल्ला गरेको जनाएको छ । यो सँगै अब भदौ १८ गतेदेखि असोज ७ गतेसम्म हकप्रद सेयरको लागि आवेदन दिन सकिनेछ ।

कम्पनीबाट प्रतिसाधारण सेयर सय अङ्कित दरको १० करोड ५९ लाख कित्ता हकप्रद सेयर निष्काशन हुनेछ । कम्पनीले हाल कायम एक कित्ता सेयर बराबर नयाँ एक कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

गत वर्ष २०७९ साल भदौ ३ गते बसेको १४औँ साधारणसभाले कम्पनीको हाल कायम चुक्ता पूँजी १० अर्ब ५९ करोड बराबरको प्रतिसेयर रकम सय अङ्कित दरको १० करोड ५९ लाख कित्ता साधारण सेयरको हकप्रद निष्काशन गर्ने निर्णय गरेको थियो ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष रहेको छ भने सह बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले माथिल्लो तामाकोशी जलविद्युत् केन्द्र, नागरिक लगानी कोष, सनराइज क्यापिटल, लक्ष्मी सनराइज बैंक, प्रभु बैंक, सिटिजन्स बैंक, सिन्धु विकास बैंक, कृषि विकास बैंक, नेपाल बैंक, महालक्ष्मी विकास बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, हिमालयन बैंक, प्राइम कमर्सियल बैंक तथा सानिमा बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ । सनराइज क्यापिटलले सेयर निष्कासनको जिम्मा पाएसँगै स्थानीयवासीको हकमा अनिवार्य डिम्याट खाता खोल्न आग्रह गरेसँगै सेयर निष्कासनमा केही ढिलाइ भएको थियो ।

जिल्लास्थित स्थानीय राजनीतिक दल र अन्य सरोकारवालाको दबाबमा अब स्थानीयवासीहरूले डिम्याट खाता नभए पनि हकप्रद सेयर भर्न पाउने प्रावधान बनाएको छ । कम्पनीले दोस्रो चरणमा निर्माण लक्ष्य लिएको रोल्वालिङ खोला जलविद्युत् आयोजनाका लागि माथिल्लो तामाकोशीमा सेयर लगानी गरेका साविककै लगानीकर्ताहरूबाट १:१ को अनुपातमा शतप्रतिशत हकप्रद सेयरको माध्यमबाट रकम सङ्कलन गरी वित्तीय व्यवस्थापन गर्न लागेको हो । हिजो मात्रै रोल्वालिङ खोला जलविद्युत् आयोजनाका लागि माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेड र एनइएसीइबीच सम्झौता भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.