सरकारको गुणगान नगाउन पत्रकारहरुलाई मुख्यमन्त्रीको आग्रह
रुपन्देही- लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकारको आलोचना गरेर लेख्न सञ्चारमाध्यम र पत्रकारहरुलाई आग्रह गर्नुभएको छ । बुटवलमा शुरु प्रादेशिक मिडिया सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले सकारात्मक आलोचनाले मात्रै सरकारलाई सही मार्गदर्शन गरी गल्ती कमजोरी सच्याउन मौका मिल्ने बताउनु भयो ।
राजनीतिक परिवर्तनमा मिडियाहरुको ठूलो योगदान रहेको स्मरण गर्दै मुख्यमन्त्री चौधरीले मिडियाहरु बलियो भए मात्र सरकार बलियो हुने बताउनुभयो । सरकारको गुनगान गाउनु पर्दैन, आलोचनात्मक लेख्नुस् तर कसैलाई सिध्याउने गरी मिडिया लाग्न नहुने उहाँको भनाइ छ ।
मिडियाको सबलिकरणमा प्रदेश सरकार साथमा रहेको भन्दै उहाँले सरकारको प्राथमिकता विकास र समृद्धि भएकाले त्यसमा साथ दिन सञ्चारमाध्यमलाई आग्रह पनि गर्नुभयो ।
प्रदेश सरकारले वर्षमा २ लाख जनालाई रोजगारी दिने लक्ष्य रहेको र प्रदेशभरी त्यसको सम्भावना रहेको दावी गर्दै उहाँले हामीसँग बुद्ध जन्मस्थल लुम्बिनी, स्वर्गद्वारी, आदिवासी जनजातिका संस्कृतिहरु र प्रशस्त हिल स्टेशनहरु भएकाले प्रदेशको समृद्धि र लगानीका लागि सरकारले अन्तराष्ट्रियस्तरमा पनि छलफल गरिरहेको बताउनुभयो ।
सम्मेलनमा प्रेस काउन्सीलका अध्यक्ष बालकृष्ण बस्नेत, अग्रज पत्रकारहरु कनकमणि दीक्षित, युवराज घिमिरे, डा. बालकृष्ण चापागाई लगायतले सञ्चार माध्यमहरुले वहुआयामिक चुनौतिहरुको सामना गरिरहेको उल्लेख गर्नुभयो ।
सम्मेलनमा प्रदेशभरका छापा, विद्युतीय र अनलाइन गरी करिब दुई सय जना सञ्चार उद्यमी र पत्रकारहरुको सहभागिता रहेको छ । सम्मेलनमले मोफसलका मिडियाहरुको सबलिकरण, पत्रकारहरुको रोजगारीको सुरक्षा, विज्ञापन दररेटमा एकरुपता लगायतका विषयमा बसन्तपुर घोषणापत्र जारी गर्ने प्रकाशन तथा प्रशारण संघ लुम्बिनीका अध्यक्ष नवराज कुंवरले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्