जी-२० समूहका नेताहरु संयुक्त घोषणापत्रप्रति सहमत, रुस-युक्रेन युद्धको नरम चित्रण

जी-२० देशका नेताहरू संयुक्त घोषणापत्रप्रति सहमत भएका छन् । शिखर सम्मेलनको आयोजक राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ‘नयाँ दिल्ली-जी-२० लिडर्स घोषणापत्र’ मा सहमति जुटेको जानकारी दिनुभएको हो ।

बलियो, दीर्घकालीन, सन्तुलित र समावेशी वृद्धि, दीर्घकालीन भविष्यको लागि हरित विकास सम्झौता, एक्काइसौँ शताब्दीका लागि बहुपक्षीय संगठनहरूको महत्वजस्ता विषय घोषणा पत्रमा रहेका छन् ।

अफ्रिकी सङ्घलाई पनि सो समूहको स्थायी सदस्य बनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राख्‍नु भएको प्रस्ताव सम्मेलनले पारित गरेको छ ।

रुस-युक्रेन युद्दका बारेमा ठूलै मतभेद देखिएपनि चलाखीपूर्ण ढंगले युद्दको विरोध गरिएको छ । रुसको नामै नलिई युद्द नहुनु पर्ने र छिट्टै अन्त्य होओस् भन्ने कामना गरिएको बताइएको छ ।

संयुक्त राष्ट्रसङ्घको बडापत्र, उद्देश्य र सिद्धान्त अनुरूप सहयोग गर्नुपर्छ भन्नेमा सबैको जोड रहेको छ । सम्मेलनले रुसप्रति नरमभाव देखाएको भन्दै युक्रेनले भने असहमति जनाइ सकेको छ ।

सम्मेलनमा रुस र चीनका सरकार प्रमुख भने अनुपस्थित छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिन्पिङले बैठकमा भाग लिन आफ्ना प्रतिनिधि पठाउनु भएको छ ।

बसुधैब कुटुम्बकम् नारा दिइएको जी–२० सम्मेलनमा भारतीय संस्कृतिलाई उच्च महत्व दिइएको छ । सम्मेलनका पाहुनाहरुलाई सुन चाँदीका भाँडामा खाना खाने व्यवस्था मिलाइएको छ ।

जी-२० राष्ट्रहरूले विश्व अर्थव्यवस्थाको ८५ प्रतिशत हिस्सा ओगट्छन् भने उनीहरूबीच हुने व्यापार कुल व्यापार मध्येको ७५ प्रतिशत हो ।

अमेरिकी राष्ट्रपति जो बाइडन, बेलायती प्रधानमन्त्री ऋषि सुनक र फ्रान्सका राष्ट्रपति एमानुएल म्याक्रों लगायत नेताहरु शिखर बैठकमा सहभागी हुनुहुन्छ ।

सम्मेलनले मोरक्कोमा गएको भूकम्पबाट प्रभावित मानिसप्रति समवेदना र सहानुभूति पनि प्रकट गरेको छ । २ दिने सम्मेलन दिल्ली घोषणा पत्र जारी गरी आज सकिँदै छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.