तिजका अवसरमा शिवालयहरुमा बिहानैदेखि महिलाको भीड

काठमाडौँ- हिन्दू महिलाहरुको महान पर्व तिजका अवसरमा देशभरका प्रमुख शिवालयमा आज बिहानैदेखि महिलाहरुको भीड लागेको छ ।
हिन्दुहरुको पवित्रस्थल पशुपति मन्दिरमा आज विहानैदेखि महिला भक्तजनहरुको लामो लाइन छ । पशुपति दर्शन गर्न आउने महिलाहरुको लागि आझ मन्दिरका चारवटै ढोकाहरु खुला गरिएका छन ।

यसैगरी, ब्रम्हा, विष्णु र महेश्वरको स्वरुप मानिने भक्तपुरको दत्तात्रय मन्दिरमा आज बिहानैदेखि महिलाहरुको भीड लागेको छ । दुई किलोमिटर लामो दर्शनार्थीको लाइन लागेपछि मेला व्यस्थापन समितिले लाइन नमिचियोस् भनेर महिलाहरुका लागि टोकनको व्यवस्था गरेको छ ।

नेपाल स्काउट, स्थानिय क्लब र महिला सङ्घ–सङ्गठनले स्यंमसेवका रुपमा कार्य गरिरहेका छन् । विभिन्न स्वास्थ्य संस्थाहरुले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । जिल्लाका एम्बुलेन्सलाई मन्दिर परिसरमै तयारी अवस्थामा राखिएको छ भने व्यापक प्रहरी परिचालन गरेर सुरक्षाको व्यवस्था मिलाइएको छ । मन्दिर परिसरमा दर्शनार्थी महिलाको भीड लाग्नुको साथै महिलाहरुले विभिन्न समूहमा नाचगान गरी तिज मनाइरहेका छन् ।

त्यसैगरी आजै सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरमा पनि बिहानैदेखि महिलाहरुको भीड लागेको छ । केदारनाथको शिर डोलेश्वर, आशापुरीदेखि साँगाको अग्लो कैलाशनाथ महादेवसम्ममा दर्शनार्थीको भीड लागेको छ ।

आज बिहानैदेखि मन्दिरमा महिला दर्शनार्थीको भीड लागेको मन्दिर विकास तथा संरक्षण समितिका महासचिव हरिशरण बस्नेतले जानकारी दिनुभयो । ब्रतालुका लागि लक्षित गरि स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।

सिपाडोल कै प्रसिद्ध आशापुरी महादेव मन्दिरमा पनि दर्शनार्थीको भीड लागेको छ । मनले चिताएको आशा पुरा हुने जनविश्वास रहेको आशापुरी महादेव मन्दिरमा दर्शनार्थीहरुको भीड लागेको छ । डोलेश्वरमा दर्शन गर्नेहरु आशापुरी जाने गरेकाले दुवै मन्दिरमा दर्शनार्थीको भीड लागेको हो ।

त्यस्तै सूर्यविनायक–१ सिरुटारस्थित गुप्तेश्वर महादेव मन्दिर, सोमलिङ्गेश्वर महादेव, चरखण्डिश्वर महादेव, वडा नं ४ स्थित अनन्तलिङेश्वर महादेव, वडा न ५ को सुवर्र्णेश्वर महादेव, वडा नं १० चित्तपोलमा रहेको साँगास्थित अग्लो कैलाशनाथ महादेव, चित्तपोलकै लटरम्बेश्वर महादेव, चाँगुनारायणको यातु महादेव, चाँगुनारायण मन्दिरहरुमा दर्शनार्थीको भीड लागेको छ ।

तिज पर्वमा महिलाहरुले आज निराहार ब्रत बसी आफ्ना पति, घर परिवारको लामो आयु, सुख, सम्वृद्धिको कामना गर्दै साँझ महादेव मन्दिरमा दर्शन गर्ने र नाचगान गर्दै यो पर्व मनाउने गर्दछन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.