सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीचको बैठक अपरान्हसम्मका लागि स्थगित

काठमाडौं- सरकार र आन्दोलनरत् नेपाल शिक्षक महासंघबीच आज अपरान्ह पुन: वार्ता हुँदैछ । गृहमन्त्रालयमा केहीबेर अघि बसेको बैठकमा तयारी पूरा नभएकोले अपरान्ह पुन बस्‍ने गरी स्थगित भएको छ ।

दुबै पक्षले वार्ता समिति बनाइ वार्तामा बस्‍ने नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले जानकारी दिनुभयो । वार्ता अघि नबढेपछि आन्दोलनरत पक्ष प्रदर्शन व्यवस्थित गर्न माइतीघरतर्फ गएको छ ।

हिजो बिहान र साँझ पनि दुई चरणमा मन्त्रीहरुसँग छलफल भएको थियो । हिजो विहान आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुसँग उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले छलफल गर्नुभएको थियो ।

साँझ उपप्रधानमन्त्री श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, अर्थमन्त्री डा. प्रकाशशरण महत र कानुनमन्त्री धनराज गुरुङसहितको सरकारी टोली र शिक्षक प्रतिनिधिहरुबीच छलफल भएको थियो ।

हिजोको वार्तामा शिक्षकका सबै मागको विषयमा छलफल भएको कानुनमन्त्री धनराज गुरुङले बताउनुभयो । कानून मन्त्री गुरुङले महाङ्घसँगको छलफल सकारात्मक रहेको र आज बिहान पुनः वार्तामा बसेर सहमति गर्ने टुङ्गो लागेको बताउनुभयो ।

हिजो साँझ भएको वार्तामा सहभागी शिक्षक प्रतिनिधिले सरकारले औपचारिक रुपमा पत्र पठाएर आफूहरुलाई वार्तामा नबोलाएकाले सो छलफललाई औपचारिक मान्न नमिल्ने बताएका थिए ।

आज हुने सरकारी वार्ता टोलीमा उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ, अर्थमन्त्री महत, कानुनमन्त्री गुरुङ, शिक्षामन्त्री राई, सञ्चारमन्त्री शर्मा र सम्बन्धित मन्त्रालयका सचिवहरु हुनुहुन्छ ।

यस्तै महासंघको तर्फबाट अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदी, आन्दोलन परिचालन समितिकी संयोजक नानुमाया पराजुली, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधि छन् ।

विद्यालय सम्बन्धी विधेयकमा असन्तुष्टि जनाउँदै बुधबारदेखि देशभरका शिक्षकहरु काठमाडौंकेन्द्रित सडक आन्दोलनमा छन् । यसबाट देशभरका २७ हजार सार्वजनिक विद्यालयको पठनपाठन ठप्प भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.