सामाजिक सुरक्षा र देश विकासका लागि एमालेको विकल्प नभएको नेता ओलीको दाबी

धनुषा- नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा र देश विकासका लागि एमालेको विकल्प कोही हुन नसक्ने दाबी गर्नुभएको छ ।

नेकपा एमाले मधेस प्रदेशको प्रथम अधिवेशनलाई जनकपुरधाममा उद्घाटन गर्दै अध्यक्ष ओलीले आफ्नो पार्टीले सुरु गरेको सामाजिक सुरक्षा नीतिले नै असहाय, ज्येष्ठ नागरिक, घरबारविहीन नेपालीले राज्य भएको अनुभूति गर्न पाएको दाबीसमेत गर्नुभयो ।

“एमालेले नै कमजोर, असहाय, ज्येष्ठ नागरिक, सडकमा जीवन बिताउने नागरिकदेखि बालिकाको आत्मसम्मानका लागि सहुलियतको अभियान अगाडि बढाएको हो । एमालेले नै विकासका लागि सडक, बाटोघाटो, स्वास्थ्य, शिक्षा, उद्यमशीलतालगायत विकासको जग बसाल्दै देशलाई रेल युगमा प्रवेश गराएको हो”, अध्यक्ष ओलीले भन्नुभयो ।

नेता ओलीले विसं २०७४ को चुनावपछिका तीन वर्ष आफू नेतृत्वको सरकारले गरेका कामको गति देखेर धेरैलाई जलन भएको आरोप लगाउनुभयो ।

देशको विकासका लागि आगामी चुनावमा वडा तहदेखि नै पार्टीको कम्तीमा ५१ प्रतिशत सिटका लागि अहिलेदेखि नै एकताबद्ध भएर लाग्न आम नेता तथा कार्यकर्तालाई उहाँले आग्रह गर्नुभयो ।

पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मधेसको भाग्य र भविष्यसँग जोडिएको हुलाकी राजमार्ग, कृषि सिँचाइलगायत विकासका पूर्वाधार बनाउन एमाले नेतृत्व अपरिहार्य भएको बताउनुभयो ।

उहाँले ‘समृद्ध नेपाल सुखी नेपाली’को सपना सबै तहमा पार्टीको सरकार भएमा मात्रै सम्भव हुने भन्दै सबै एकताबद्ध भएर पार्टी सङ्गठन बलियो बनाउनेतर्फ लाग्न अपिल गर्नुभयो ।

महासचिव शङ्कर पोखरेलले मधेस केन्द्रित पार्टीले सरकारको नेतृत्व गरे पनि समृद्धिको नेतृत्व गर्न नसकेको आरोप लगाउँदै प्रदेशको विकासका लागि एमालेको विकल्प नरहेको दाबी गर्नुभयो ।

उहाँले पार्टी अध्यक्ष ओली नेतृत्वको सरकारले मधेसको विकासका लागि सुरु गरेको अभियानलाई पूर्णता दिन प्रदेश र सङ्घमा पनि एमालेकै सरकार आवश्यक भएको बताउनुभयो ।

पार्टी सचिव एवं मधेस प्रदेश इञ्चार्ज योगेश भट्टराई अर्का सचिव रघुवीर महासेठ, नेत्री जुलीकुमारी महतोलगायतले सङ्गठनका विविध पक्षबारे मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.