मन्त्रिपरिषदमा उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्रीको ‘ब्रिफिङ’

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे ‘ब्रिफिङ’ गर्नुभएको छ । आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीले चीन भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे ‘ब्रिफिङ’ गराउनुभएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
चीनमा रहनुभएका उपप्रधानमन्त्री श्रेष्ठलाई गएराति सामान्य प्रकारको हृदयाघात भएको थियो । प्रधानमन्त्री दाहालले उहाँको बेइजिङस्थित पेकिङ युनियन मेडिकल कजेजमा उपचार भइरहेको जानकारी गराउनुभएको मन्त्री शर्माले बताउनुभयो । उहाँको स्वास्थ्य अवस्था खतरामुक्त रहेको मन्त्री शर्माले जानकारी दिनुभयो ।
“प्रधानमन्त्री दाहालले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे चीनका लागि नेपाली राजदूतसँग जानकारी लिइराख्नुभएको छ । उपचारका क्रममा केही दिन उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङमा नै रहने जानकारी आएको छ”, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै मन्त्री शर्माले भन्नुभयो ।
मन्त्रिपरिषद् बैठकले राष्ट्रिय मानवअधिकार आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । बैठकमा नेपाल र इजिप्टबीचको युवा तथा खेलकुदसम्बन्धी समझदारीपत्र स्वीकृत गरी सो समझदारी पत्रमा समकक्षी मिलाइ हस्ताक्षर गर्न युवा तथा खेलकुद मन्त्रालय तथा नेपाल र कतारबीच हुने सञ्चारसम्बन्धी समझदारी स्वीकृति गर्ने र उक्त समझदारी पत्रमा समकक्षी मिलाइ हस्ताक्षर गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई अख्तियारी दिइएको मन्त्री शर्माले जानकारी दिनुभयो ।
बैठकले नजिकिएको चाडपर्व दसैँ, तिहार, नेपाल संवत्, छठलगायत राष्ट्रिय पर्वका अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.