इजराइल–हमास युद्ध : तेस्रो मानवीय सहायता समूह गाजामा प्रवेश

आवश्यक सहायता लिएर जाने सवारी साधनहरूको तेस्रो समूह इजिप्टसँगको रफाह क्रसिङकबाट गाजामा प्रवेश गरेको सीएनएनले बताएको छ ।
बीस लाखभन्दा बढी नागरिकको घर गाजाले इजराइलको लगातारको बमबारी र पूर्ण नाकाबन्दीका कारण गम्भीर पानीको समस्या र भोकमरीको खतराको सामना गरिरहेको छ ।
शनिबार र आइतबार कूल ३४ वटा ट्रकले सोही रफाह क्रसिङमार्फत इजिप्टबाट गाजासम्म खाद्यान्न, पानी, औषधि र चिकित्सकीय उपकरणसहित अत्यावश्यक सामग्री पुर्याएका थिए । यी प्रयासका बावजुद मानवअधिकार संस्थाहरूले प्यालेस्टिनी क्षेत्रसम्म पर्याप्तरूपमा सहायता सामग्री नपुगेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घका विज्ञहरूले आइतबार गाजामा इजराइलको कारवाहीलाई मानवताविरुद्धको अपराधसरह भएको घोषणा गरेका थिए । गाजाका लागि इजराइलको सीमा क्रसिङ बन्द भएका कारण इजिप्ट र गाजालाई जोड्ने रफाह क्रसिङ प्यालेस्टिनी क्षेत्रमा सहायता सामग्री पुर्याउने एकमात्र व्यावहारिक मार्ग बनेको सीएनएनले बताएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसँग टेलिफोनमा कुराकानी गर्नुभयो । कुराकानीका क्रममा दुवै नेताले गाजामा मानवीय सहायता तथा राहत सामग्रीको निरन्तर प्रवाहलाई सुनिश्चित गर्ने आवश्यकता रहेको पुष्टि गर्नुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.