नेका केन्द्रीय पदाधिकारीको बैठक बस्दै

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज बस्दै छ । सभापति शेरबहादुर देउवाले आसन्न महासमिति बैठकको तयारीका सन्दर्भमा छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारी बैठक दिउँसो १ बजेका लागि आह्वान गर्नुभएको हो ।

कांग्रेस केन्द्रीय सदस्य एवं सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले महासमितिको बैठकको तयारीबारे छलफल गर्न बैठक बस्न लागेको जानकारी दिनुभयो ।

बैठकअघि विभागका प्रमुख र सदस्यलाई पूर्णता दिने तयारी छ, त्यस विषयमा पनि छलफल हुने छ । उहाँका अनुसार आगामी पुस १६ देखि १९ गतेसम्म हुने महासमिति बैठकलाई केन्द्रित गरी बैठकमा छलफल हुने छ ।

यसैबीच कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको रिक्त तीन भ्रातृ संस्थामा नयाँ अध्यक्ष मनोनित गर्नुभएको छ । सभापति देउवाले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार नेपाली कांग्रेसको विधान बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएका पार्टी आबद्ध तीन भ्रातृ संस्थामा अध्यक्ष नियुक्त गर्नुभएको हो ।

सभापति देउवाले नेपाल प्रजातन्त्र सेनानी सङ्घको अध्यक्षमा बालकृष्ण दाहाल (ओखलढुङ्गा), नेपाल भूतपूर्व सैनिक सङ्घको अध्यक्षमा मेघराज टण्डन (कपिलवस्तु) र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घको अध्यक्षमा प्रकाश पन्थ (तनहुँ) लाई नियुक्त गर्नुभएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.