एनसेल प्रकरणबारे जानकारी लिन राज्य व्यवस्था समितिले प्रधानमन्त्रीलाई बोलाउने
काठमाडौं- एनसेल सेयर बिक्रीका सम्बन्धमा जानकारी लिन प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई बोलाउने भएको छ ।
समितिको शुक्रवार बसेको बैठकले प्रधानमन्त्रीलाई बोलाएर एनसेल बिक्री र त्यससम्बन्धमा सरकारले चालेको कदमबारे जानकारी लिने निर्णय गरेको हो ।
“यस विषयमा सरकारले छानविन समिति समेत गठन गरिसकेको अवस्था छ । मुलुकको सुशासनसँग सम्बन्धित विषय पनि हो । आजको बैठकले यस विषयमा प्रधानमन्त्रीलाई नै समितिमा बोलाएर विस्तृत जानकारी लिने निर्णय गरेको छ । प्रधानमन्त्रीको समय मिलाएर मिति र बैठकको समय तय गरिने छ,” समिति सभापति रामहरी खतिवडाले नेपालटिभी अनलाइनलाई भन्नुभयो।
यसअघि यसै विषयमा संसदको सार्वजनिक लेखा समिति र अर्थ समितिले सरकार र एनसेलसँग जानकारी माग गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्