सिनामङ्गलमा रहेकाे पुरानो कुवाकाे मर्मत कार्य सुरु

काठमाडौँ- काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलस्थित रहेको पुरानो कुवा संरक्षणका लागि युवा जुटेका छन् ।

करिब ३१ वर्ष पुरानो रहेको उक्त कुवा काठमाडौँ–९ सिनामङ्गलका वडाअध्यक्ष रामजी भण्डारीको पहल तथा स्थानीय तारा युवा समाजका युवाहरुको सक्रियतामा अहिले उक्त कुवा जिर्णोद्वार तथा मर्मतकार्य सुरु गरिएको तारा युवा समाजका अध्यक्ष जगदीश कुइकेलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “विगतमा यस कुवाबाट पाँच सय घरपरिवारले शुद्ध खाने पानी प्रयोग गर्न पाएका थिए, पछि कुवा, मर्मत र संरक्षण नरिँदा पानी बन्द भएको थियो, अहिले हाम्रो र वडा कार्यालयको पहलमा पुनः मर्मत गरेर पानी निकाल्ने काम सुरु गरेका छौँ ।”

पुरातात्विक र ऐतिहासिक महत्वका यी सम्पदाको संरक्षणमा सरकारी क्षेत्रबाट खासै चासो नदेखाउँदा आफ्नो पहिचान नामेट हुने अवस्थामा पुगेकाले तिनको संरक्षणका लागि वडाध्यक्ष भण्डारीसँगको सहकार्यमा आफूहरु अगाडि सरेको तारा युवा समाजका पदाधिकारी बताउँछन् ।

स्थानीयसहित युवा सहभागी भई उक्त कुवाको मर्मत तथा जिर्णोद्वार गरिन थालेपछि ऐतिहासिक विरासत मानिएको सो कुवाले पुनर्जीवन पाउने सिनामङ्गलका स्थानीय बताउँछन् । युवाहरुको सक्रियतामा उक्त कुवा संरक्षण तथा पक्की पर्खाल राखेर जिर्णोद्वारकार्य सुरु गरिएको वडाध्यक्ष भण्डारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “वडा कार्यालय र तारा युवा समाजका युवाहरुको सक्रियतामा कुवा संरक्षण तथा जिर्णोद्धार गर्ने कार्य सुरु गरिएको छ, चाँडै हामी यहाँका वडावासीलाई कुवाको शुद्ध पानी वितरण गर्ने छौँ ।” उक्त कुवा जिर्णोद्धारको कार्य सम्पन्न भएपछि एउटा ढुङ्गेधारा राखिने र कुवाको क्षेत्रमा मन्दिरसमेत निर्माण गरिने तथा ढुङ्गेधाराबाट नै सार्वसाधारणका लागि पानी वितरण गरिने तारा युवा समाजका अध्यक्ष कुइकेलले बताउनुभयो ।

पुरानो कुवा संरक्षणका लागि युवाहरु जुटेपछि अहिले सिनामङ्गलका स्थानीय पनि खुशी भएका छन् । सरंक्षणको अभावमा नामेट हुँदै जान थालेका यस्ता ऐतिहासिक सम्पदाको संरक्षणका लागि सरकारी तहबाट खासै कुनै पहल नभएपछि स्थानीय युवा नै सक्रिय भएको स्थानीय बताउँछन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.