सुर्तीजन्य पदार्थ जफत गर्दै काठमाडौँ महानगरपालिका

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले पसलहरूमा बिक्रीमा राखिएका सुर्तीजन्य पदार्थ आजदेखि जफत गर्न थालेको छ ।
सुर्तीजन्य पदार्थ बेच्न नपाइने र बेचेको भेटिए पसल बन्दसम्म गराउन सक्ने सूचना सार्वजनिक गरी महानगरपालिकाले पसलहरूको अनुगमन सुरु गरेको हो ।
खैनी ,चुरोट, गुट्खा, सुर्तिजन्य पदार्थ स्वास्थ्यका लागि हानिकारक हो ।
यसको सेवन गर्दा निकोटिन, टार, कार्बन मोनोअक्साइड , एमोनिया,आर्सनिक जस्ता केमिकलले जति स्वास्थ्यमा असर गर्छ त्यति नै यसमा प्याकिङ भएर आउने प्लास्टिकले वातावरणलाई असर परेको छ ।
जथाभावी फालिएको सुर्तिजन्य पदार्थका प्याकेटले ढललाई समेत जाम बनाएको छ । कपालको रौँ झै टाँसिएर बस्दा पटकपटक जाम खोल्न समस्या भएको र स्वास्थ्यसँगै वातावरणलाई पनि असर गरेको भन्दै काठमाडौँ महानगरपालिकाले सुर्तिजन्य पदार्थमा पूर्ण प्रतिबन्ध लगाएको हो ।
प्रतिबन्ध लगाउन सूचना सार्वजनिक गरेपनि ठाउँठाउँमा बेचेको पाइएपछि महानगरले अनुगमनलाई तिव्रता दिएको छ । बिहीबारबाट सुरु गरेको अनुगमनका क्रममा बालाजु, अनामनगर, बानेश्वर लगायतका स्थानबाट २ बोरा, जडिबुटी र कोटेश्वर क्षेत्रबाट २ झोला र अरु विभिन्न क्षेत्रबाट ३ बोरा सुर्तीजन्य पदार्थ भेटिई जफत गरेको छ ।
महानगर प्रहरीले अनुगमनका लागि १०-१० जनाको पाँच टोली परिचालन गर्नुको साथै सादा पोशाकमा पनि प्रहरी परिचालन गरेको छ ।अनुगमन गर्दा पसलमा सुर्तीजन्य बस्तु पाइएपछि सचेत गराउँदै २ पटकसम्म जफत गर्ने र तेस्रो पटक पनि भेटिए पसल बन्द गराउने सम्मको कारवाही हुने चेतावनी दिएको छ ।
प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री निषेध भनी महानगरको स्वास्थ्य विभागले मंसिर १२ गते सूचना जारी गरेको थियो । चुरोटको भने प्याकेट बिक्री गर्न पाइने, तर एक-दुई खिली चुरोट किनबेच गर्न पाइने छैन । यसैगरी सार्वजनिक स्थलमा बिक्री वितरण र सेवन गर्न पनि पाइनेछैन ।
सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न बनेको ऐनले सार्वजनिक स्थलमा शिक्षण संस्था, विमानस्थल, बाल कल्याण गृह, क्लब, सार्वजनिक शौचालय, होटल, रेस्टुरेन्ट, छात्रावास, व्यायामशाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतीक्षालय लगायतका स्थल तोकेको छ ।
यी निषेधित स्थानमा सुर्तिजन्य पदार्थ सेवन गरेको भेटिएमा तत्काल १ सय रुपैयाँ जरिवाना गर्ने व्यवस्था ऐनमा भएकोले सोही अनुसार कारबाही गरिने पनि महानगरले जनाएको छ ।।






प्रतिक्रिया राख्नुहोस्