पर्यटकीय केन्द्र बन्दै धनकुटाको राजारानी (फाेटो फिचर)

धनकुटा- छोटो समय लिएर घुम्न आउने आन्तरिक पर्यटकका लागि धनकुटाको रानी ताल आकर्षणको केन्द्र बन्दै गइरहेको छ। तालको रमणीय वातावरण तथा तालमा सञ्चालित मोटरबोटका कारण यहाँ आन्तरिक पर्यटक आकर्षित बनेका हुन्।

धनकुटाको राजारानी बजार नजिकै रहेको रानी तालमा मोटरबोटको मज्जा लिनेदेखि घुम्न आउने मानिसको संख्या बढ्दै गइरहेको छ। खाली समयको सदुपयोग गर्नमात्रै नभएर विशेष दिनमा समेत रमाइलो गर्नका लागि पनि तालमा आउनेको संख्या उत्तिकै छ।

मोटरबोट चढ्दा प्रतिव्यक्ति २ सय ५० रुपैयाँ शुल्क लिने गरिएको छ। पूर्वकै पर्यटकीय क्षेत्र भेडेटार हुँदै पुगिने राजारानीमा रानी तालले छुट्टै आकर्षण थपेको छ। कोरोनाको कारणले थलिएको पर्यटन व्यवसाय मोटरबोट सञ्चालनपछि उकास्न सहज भएको रानी ताल संरक्षण समितिका कोषध्यक्ष काजीमान लिम्बूले बताउनु भयो ।

राजारानीमा शनिबारको दिन भने बढी मात्रामा पर्यटक आउने गरेका छन्। चौबिसे गाउँपालिकाले तालकिनार व्यवस्थित बनाउने काम गरिरहेको जनाएको छ। प्रदेश र संघीय सरकारको सहयोगमा गाउँपालिकाले बजेट विनियोजन गरेर ताललाई आकर्षक बनाउने काम गरिरहेको गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङले बताउनु भयो।

बाह्रै महिना चिसो मौसम भइरहने राजारानी सानो उपत्यका पनि हो। राजा र रानी छुट्टाछुट्टै ताल रहेको राजारानीमा रानी तालमा मात्र पानी छ, राजा ताल सुकिसकेको छ। रानी तालमा पर्यटक आकर्षित गर्न संरचना निर्माणका साथै बोटिङको पनि व्यवस्था गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.