पोखरामा १९औं लेखनाथ महोत्सव सुरु

कास्की- ‘लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’ मूल नाराका साथ १९औं लेखनाथ महोत्सव पोखरा २७ तालचोकमा शुरु भएको छ । लेखनाथ उद्योगवाणिज्य संघ र नेपाल उद्योगवाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन भएको महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभयो ।

महोत्सव उदघाटन गर्दै मुख्य मन्त्री पाण्डेले विभिन्न जातजाति, भाषाभाषीलाई एकै थलोमा उपस्थित गराएर लेखनाथ क्षेत्रको पहिचान गराउने उद्देश्यले आयोजना गरिएको महोत्सवको माध्यबाट यस क्षेत्रमा उत्पादित वस्तुहरूको बजारीकरण गर्ने, कृषि सामग्री एवं महिला उद्यमीको उत्पादनको प्रदर्शनी एवं बिक्री बितरण साथै यस क्षेत्रको अर्थतन्त्रलाई चलायमान बनाउन तथा पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्ने बताउनु भयो ।

पुष १६ गतेसम्म चल्ने महोत्सवमा स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्धन, आवश्यक ज्ञान, सिप, उद्यमशीलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाको प्रवद्र्धन, जातीय भेषभूषा, कला संस्कृति, रीतिरिवाजको जर्गेना गर्ने र आर्थिक गतिविधि चलायमान बनाउने अपेक्षा गरिएको छ ।

महोत्सवले औद्योगिक उत्पादनलाई बढावा दिन, हस्तकलाका सामानहरुको बजार प्रवर्द्धन र सोको पहिचान गराउन महोत्सव सफल हुने व्यवसायीहरुको भनाई छ । महोत्सवको थप आकर्षण थ्रिडी आर्टमार्फत कविशिरोमणि लेखनाथ पौड्यालको जन्मघर झल्कने तस्बिर, एलइडी डिस्प्लेमार्फत स्टेजबाट प्रायोजकको प्रवद्र्धन, दर्शकका लागि इ–सेवाबाट टिकट व्यवस्था छ ।

महोत्सवमा दैनिकरुपमा कलाकारबाट स्टेज शो, बालउद्यान, खाना महोत्सव, राष्ट्रिय लोकदोहोरी कार्यक्रम, कविता प्रतियोगिता, रीतिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, नवप्रतिभा खोजी कार्यक्रम लगायत कार्यक्रम राखिएका छन् ।

करिब ३ सय ३४ स्टल रहने महोत्सवमा २ लाख ५० हजारभन्दा बढी दर्शकले महोत्सव अवलोकन गर्ने र करिब ९ करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.