संविधान कार्यान्वयनको बाँकी काम यथाशक्य पूरा हुने उपराष्ट्रपतिको विश्वास

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुनले जननिर्वाचित संविधानसभाद्वारा जारी संविधान कार्यान्वयनको बाँकी काम यथाशक्य चाँडो पूरा हुने विश्वास व्यक्त गर्नुभएको छ ।

संविधान दिवस तथा राष्ट्रिय दिवस-२०७७ का अवसरमा आज शुभकामना दिँदै उहाँले संविधानअनुसार बन्नुपर्ने कतिपय संरचनाको निर्माण र संविधान कार्यान्वयनका कतिपय काम बाँकी रहे पनि यसको पूर्ण कार्यान्वयन गर्न आजको दिनले सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।

“नेपाली जनताको स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डताको मजबुती र राष्ट्रिय एकतालाई अझै सुदृढ् गर्न र ‘समृद्ध नेपाल, सुखी नेपाली’का लागि संविधानको कार्यान्वयन र पालनमा लाग्नु सबै नेपालीको कर्तव्य हो”, उहाँले भन्नुभएको छ, “संविधान एक गतिशील दस्तावेज भएकोले कतिपय असन्तुष्टिहरुलाई संविधानभित्रै रहेर सम्बोधन गर्न र यसलाई थप परिष्कृत गर्न सकिनेतर्फ सबै पक्षको ध्यान जाने विश्वास लिएको छु ।”

उपराष्ट्रपतिले संविधानसभाबाट संविधान जारी गर्ने लामो समयदेखिको जनाकाङ्क्षा पूरा गर्न भएका विभिन्न कालखण्डका जनान्दोलन, सशस्त्र सङ्घर्ष, जनयुद्ध र २०६२-०६३ को ऐतिहासिक जनआन्दोलनमा शहादत प्राप्त गर्ने शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था जस्ता नेपाली जनताले प्राप्त गरेका उपलब्धि संस्थागत भएको यस स्वर्णीम दिनमा सम्पूर्ण नेपालीमा बधाई ज्ञापन गर्नुभएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.