बागलुङलाई झोलुङ्गे पुलबाट अब विश्वले चिन्न सक्छ

बागलुङ- बागलुङ जिल्ला केही उपनामले परिचित छ । झुलुङ्गे पुलको जिल्ला, नेपाल भित्रको नेपाल र बुट्टेनलीमा प्रख्यात आदि । बागलुङका नदी, खोला मात्र होइन खोल्साखोल्सीमा पनि धेरै झुलुङ्गे पुल छन् । यसकारण यस जिल्लालाई झोलुङ्गे पुलको जिल्लाका उपनामले पनि चिनिन्छ ।

बागलुङ जिल्लामा हाल सम्म ४१४ झुलुङ्गे पुल छन् भने अझै ३१ ओटा पुल निर्माणको चरणमा रहेको बागलुङमा झोलुङ्गे पुलको तथ्याङ्क तथा मर्मत सम्भार गर्दै आइरहेको बिवाइसी बागलुङका झुलुङ्गे पुल कार्यक्रम संयोजक प्रेम केसीले जानकारी दिनुभयो ।

तर पछिल्लो समय ठूला नदी र खोँचमा समेत झुलुङ्गे पुल निर्माणले गति लिएसँगै बागलुङ झुलुङ्गे पुल मात्र होइन लामा र अग्ला पुलहरुको जिल्लाका रुपमा समेत परिचित हुन थालेको छ । बागलुङ र पर्वत जिल्लाको बीच भएर बगेको कालीगण्डकी नदीमाथि हाल यी दुई जिल्लालाई जोड्ने गरी धमाधम लामा पुल निर्माण भएरहेका छन् ।

बागलुङ नगरपालिका–१ रामरेखाको बाङ्गेचौरदेखि पर्वत जिल्लाको कुस्मा नगरपालिका-१ अदुवाबारी जोड्ने हालैमात्र सञ्चालनमा ल्याइएको पुल विश्वकै लामो भएको दाबी गरिएको छ ।

उक्त पुललाई बगालुङ नगरपालिकाले विश्वकै लामो भएको भन्दै विश्व रेकर्ड कायम गर्नका लागि गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा दर्ता प्रक्रिया समेत थालेको जनाएको छ । गत महिनाबाट पुल सञ्चालनमा आएको छ र नगरपालिकालाई हस्तान्तरण भएपछि नगरपालिकाले त्यस कार्यलाई अगाडि बढाउनेगरी तयारी गरेको हो ।

विश्वकै लामो दाबी गरिएको पुलको तथ्य प्रमाणहरु भने जुट्न बाँकी नै छ । उक्त पुल साउन १६ गते शुक्रबारबाट सर्वसाधरणका लागि खुला गरिएको छ । रामरेखा अदुवाबारी झुलुङ्गे पुल मात्र होइन बागलुङ र पर्वत जिल्ला जोड्ने गरी धेरै झुलुङ्गे पुल निर्माण भएका छन् । कालीगण्डकीको खोचमा निर्माण भएका पुल अग्ला र लामा हुने गरेका छन् । रामरेखा अदुवाबारी पुल विश्व रेकर्ड कायम गर्न सकेमा बागलुङ जिल्ला झुलुङ्गे पुलको जिल्ला भनेर विश्वले चिन्नेछन् ।

उक्त पुलको लम्बाई ५६७ मिटर र १३८ मिटर चौडाइ रहेको सस्पेन्सन् बृज डिभिजन कार्यालय काठमाडौँले जानकारी दिएको छ । कार्यालयका सिनियर इन्जिनियर हुमाकान्त मिश्रका अनुसार कार्यालयमा विश्वभरको तथ्याङ्क वेवसाइटमा हेर्दा हालसम्म स्विट्जरल्याण्डमा खुला प्रकृतिको झुलुङ्गे पुल जम्मा ४९४ मिटर लामो मात्रै बनेको रेकर्ड भएका कारण यो नै विश्वको लामो झोलुङ्गे पुल हुनसक्ने अनुमान रहेको छ ।

यद्यपि, विश्व रेकर्डमा हालसम्म यस्तो प्रकृतिको पुल कति लामो छ भन्ने जानकारी भने उपलब्ध छैन । “हामीले पुलको डिजाइन गर्दा विश्वकै लामो भनेर गरेका होइनौँ, नेपालकै लामो भनिएको थियो” मिश्रले भन्नुभयो “निर्माणपछि देश विदेशमा चर्चा कमाउन थालेपछि खुला प्राकृतिमा यो पुल विश्वकै लामो हुन सक्नेछ, भन्ने मात्रै हो केही समयमा यसको टुङ्गो लाग्नेछ ।”

तर विश्वमा पछिल्लो समय अन्य लामा झुलुङ्गे पुल थपिएका भएपनि योभन्दा लामो पुल बनेको हालसम्म उल्लेख भएको छैन । पुललाई विश्व रेकर्ड कायम राख्नका लागि संसारमा खुला प्रकृतिमा निर्माण भएका झुलुङ्गे पुलको तथ्याङ्क अध्ययन पश्चात बागलुङ पर्वत जोड्ने पुल लामो ठहरिन आवश्यक भएको उहाँको भनाई रहेको छ ।

पुल निर्माणको प्रमुख समन्वयकर्ता बागलुङ नगरपालिकाले भने पुल विश्वकै लामो हुनसक्ने भन्दै विश्व रेकर्डका लागि आवश्यक प्रक्रियाका लागि सम्बन्धित क्षेत्रमा पत्राचार तथा समन्वय गरिरहेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.