एउटै कोठामा कार्यालय, बाल कक्षा र कक्षा सञ्चालन

सिन्धुली- जस्तापाताले छाएको दुई कोठे भवन, झट्ट हेर्दा कुनै समुदायको जीर्ण बनेको सामुदायिक भवन जस्तो देखिने दुई कोठे भवन हो जनमुखी प्राथमिक विद्यालय ।

सिन्धुलीको सदरमुकाम नजिकै रहेको कमलामाई नगरपालिका-४ स्थित ढाडे र ढकालगाँउ शिखरको दुर्गम दलितबस्तिको बीचमा पर्छ जनमुखी प्राथमिक विद्यालय ।

तीन कक्षासम्म सञ्चालनमा रहेको जनमुखी प्राथमिक विद्यालय २०७३ सालमा दुई कोठे भवन बनेको थियो । २०७२ सालको भुकम्पले पुरानो भवन भत्काएपछि दुई कोठे भवन बनाएर तीन वटा कक्षा र कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता हालसम्म सो विद्यालयमा छ ।

भुकम्पपछि जिल्लाका धेरै विद्यालय भवन बनेका छन् । तर जनमुखी प्रावि दूर्गम स्थानमा हुँदा भवन बनाउन पहल गरिदिने कोहि नभएको स्थानियको गुनासो छ । यहाँ नगरपालिकाको शिक्षा शाखाबाट कोहि आइपुग्नु भएको थाहा छैन, स्थानिय भन्छन्, दुर्गम दलित बस्तिमा न भवन छ न त विद्यालयको अनुगमन ।

विद्यालयका शिक्षक उमामाया लामिछानेका अनुसार एउटा कोठामा कार्यालयसहित बाल विकास र कक्षा एकको पढाई हुने गरेको छ भने अर्को कोठामा कक्षा २ र ३ को पढाई सञ्चालन गर्ने गरिएको छ ।

‘ढाँडे र ढकालगाँउ शिखरबाट विद्यालयमा २४ जना विद्यार्थीहरु अध्ययन गर्न आउने गरेका छन् । कुल २३ घर परिवार रहेकोमा सबै दलित बस्ती रहेको कमलामाई नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष महेन्द्रप्रसाद ढकाल बताउनु हुन्छ ।

२०६१ सालमा स्थापना भएर पनि जनमुखि प्रावि यतिखेर विभिन्न समस्या र अभावले झेलिएको अवस्थामा छ । विद्यालयमा बालबालिकालाई पढ्न न त सुविधा सम्पन्न भवन नै छ ! न त खानेपानीको सुविधा नै छ ।

विद्यालयकी प्रध्यानध्यापक सिता भुजेल भन्नुहुन्छ- “विद्यालयमा पढ्न आएका बालबालिकालाई दिसा पिसाब गर्न शौचालय नहुँदा जङगल पस्नुपर्ने बाध्यता छ ।” विद्यालयमा भवन, फर्निचर, सौचालय, खानेपानी लगायतको सुविधा नभएको र जिर्ण दुई कोठे भवनमै बर्षौदेखि विद्यालय सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो ।

विद्यालयमा दुईजना राहत शिक्षक, एक जना बाल विकास शिक्षक र एक जना कार्यालय सहयोगी कार्यरत छन् । विद्यालयमा खानेपानीको समेत चरम अभाव रहेको छ । घरबाटै बोतलमा पानी भरेर ल्याउनुपर्ने बाध्यता रहेको शिक्षकहरु सुनाउछन् ।

विपी राजमार्गबाट उत्तरतर्फको कच्चि र जोखिमयुक्त बाटो हुँदै पुग्न सकिने दलित बस्तिमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुनै संघसंस्था पुग्न नसकेको स्थानियको भनाई छ ।

विद्यालय भवन निर्माणका लागि नगरपालिकामा प्रस्ताव लगेको भएपनि नगरपालिकामा विद्यालय भवन बन्ने आर्थिक स्रोत नभएकाले बनाउने नसकिएको वडा अध्यक्ष ढकालले जानकारी दिनुभयो ।

हामी प्रदेश सरकार र अन्य सम्बन्धित निकायहरुमा समेत भवन बनाउन पहल गर्दै छौ, उहाँले भन्नुभयो सायद अबको केहि बर्षमा भवन बन्नेछ । उहाँले वडाको तर्फबाट पानी संकलन गर्नका लागि ट्याकी दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.