हमास प्रतिनिधिमण्डल गाजा युद्धविराम बारे वार्ता गर्न कायरोमा
काठमाडौं- गाजा-सत्तारुढ इस्लामिक प्रतिरोध आन्दोलन (हमास) को उच्चस्तरीय प्रतिनिधिमण्डल गाजा पट्टीमा युद्धविराम सम्झौताका निम्ति इजिप्टका अधिकारीहरूसँग वार्ता गर्न कायरो पुगेको छ ।
आधिकारिक सुरक्षा स्रोतले जनाएअनुसार हमासका उपप्रमुख खलिल अल-हयाको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले अर्को हप्ता शुरु हुने रमजानको अवसर पारेर युद्धविरामका लागि वार्ता गर्न त्यहाँ पुगेको स्रोतले नाम न छाप्ने शर्तमा सिन्ह्वालाई बताएको छ ।
अपेक्षित सम्झौतामा ४०० जना प्यालेस्टिनी बन्दीहरूका लागि ४० इजरायली बन्धकहरूको अदलाबदली गरिने र घेरामा परेको एन्क्लेभमा सहायता ट्रकहरू बढाउने लगायतका विषय समावेश हुनेछन् ।
यसैगरी इजरायली प्रतिनिधिमण्डल युद्धविराम वार्ताका लागि आइतबारपछि यहाँ आउने सम्भावना रहेको स्रोतले बताएको छ ।
गत वर्ष अक्टोबर ७ मा हमासले इजरायली शहरहरूमा आक्रमण गरी करिब १ हजार २०० जनाको हत्या गरी २०० जना भन्दा बढीलाई बन्धक बनाएपछि इजरायलले गाजामा त्यसका विरुद्ध ठूलो प्रत्याक्रमण अभियान चलाइरहेको छ ।
गाजाको स्वास्थ्य मन्त्रालयले जारी गरेको पछिल्लो तथ्याङ्कअनुसार त्यसयता इजरायली जवाफी कारबाहीमा ३० हजार ३२० प्यालेस्टाइनी मारिएका छन् भने ७१ हजार ५३३ जना घाइते भएका छन् ।
प्रतिक्रिया राख्नुहोस्