अत्तरियामा अपांग बालबालिकाहरुका लागि ह्विलचियर वितरण

कैलाली- कैलालीको अत्तरियामा रहेको सुप समावेशी आधारभुत विद्यालयमा अपांग बालबालिकाहरुका लागि ह्विलचियर वितरण गरिएको छ ।
लुपिक (लिडिङ युनिभर्सिटि प्रोजेक्ट फर इन्टरनेशनल कोअपरेशन) नामक संस्थाले विद्यालयमा रहेका शारिरीक रुपमा अपांगता भएका बालबालिकाहरुका लागि विद्यालयलाई ह्विल चियर वितरण गरेको हो । संस्थाले सहयोग गरेका २१ वटा ह्विलचियर एक कार्यक्रमको आयोजना गरि विद्यार्थीहरुलाई हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख भट्टले अपांगता भएका बालबालिका अध्ययनरत प्रदेशकै एकमात्र विद्यालय सुप समावेशी विद्यालय सञ्चालनमा देखिएका समस्याका विषयमा आफू जानकार रहेको बताउदै गत वर्ष आफुले पालिकामार्फत ह्विलचियर खरिद गरेर वितरण गर्ने निर्णय गरेको तर नेपालमा उपलब्ध हुन नसक्दा खरिद गर्न नसकिएको बताउनुभयो ।
कार्यक्रममा लुपिककी प्रोजेक्ट म्यानेजर किम इयुन योङ्गले सुदूरपश्चिमको अपांगता भएका बालबालिकाहरुका लागि सबैले सहकार्य गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले उक्त स्कुललाई आफ्नो संस्थामार्फत सानो सहयोग गरेको र आगामी दिनहरुमा पनि यस्ता सहयोग गर्दै जाने बताउनुभयो ।
विद्यालयमा हाल अपांगता भएका व्यक्तिहरुलाई आवास सहितको शिक्षाको सुविधा विद्यालयले प्रदान गर्दै आईरहेको छ । लुपिकले विद्यालयमा २१ वटा ह्विलचियरका साथै बालबालिकाहरुको मनोरञ्जनका लागि एउटा टिभी पनि उपलब्ध गराएको बताईएको छ ।






प्रतिक्रिया राख्नुहोस्