अन्तर्राष्ट्रिय स्तरको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको मैदान उद्घाटन

तिलोत्तमा- रुपन्देहीको तिलोत्तमामा निर्माण शुरु भएको अन्तर्राष्ट्रिय स्तरको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको मैदान उद्घाटन भएको छ ।
तिलोत्तमा नगरपालिका–१७ पूर्व दरखसवामा गत जेठ २९ गते शिल्यान्यास भएको रंगशालाको पहिलो चरणको काम अन्तर्गत खेल मैदान ९ महिनामै तयार भएपछि आज लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले मैदान उद्घाटन गर्नुभएकाे हाे ।
गुल्मीबाट तिलोत्तमामा बसाई सरेका र अष्ट्रेलियामा दश वर्ष बिताइसकेका कुँवरले अष्ट्रेलियामा ‘एक्स्ट्राटेक ओभल प्रालि’ नामको सूचना प्रविधि (आइटी) सम्बन्धी ट्रेनिङ इन्स्टिच्युट सञ्चालन गर्नुभएकाे थियोे । आफैँ पनि आइटी इन्जिनियर हुनुहुन्छ। कन्सल्टेन्सी व्यवसाय समेत गरिरहेका विनोद कुँवर दम्पत्तिले रुपन्देहीको ४० करोड लगानी गर्ने गरी अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउन शुरु गरियकाे थियोे । रंगशालाका अन्य पुर्वाधारहरु पांच वर्षभित्र पूरा गर्ने लक्ष्य छ ।
लगानीकर्ता विनोद कुँवरका अनुसार मैदान निर्माण गर्दा मात्र जग्गाबाहेक ७ करोड खर्च भएको छ । १८ करोडको लगातमा प्याराफिटको काम लगत्तै सुरू हुने बताउनु भयाे। ‘रंगशालाका सबै पुर्वाधार ५ वर्षमा पूरा हुनेछ,हामीले यसलाई चरण–चरणमा बनाउँदै लग्ने र पहिलो वर्षमा ५ हजार दर्शक अट्ने प्याराफिट बन्ने बताउनु भयाे ।
क्रमशः बढाउँदै ५ वर्षमा २५ हजार क्षमतासहितको रंगशाला पूरा गर्ने योजना छ ।’
क्रिकेट मैदान र क्रिकेट एकेडेमीको ब्रान्ड एम्बेसडरको जिम्मा नेपालका चर्चित पूर्वक्रिकेटर शक्ति गौचनले पाएका छन् । क्रिकेट रंगशालामा छात्रावाससहितको एकेडेमी र ट्रेनिङ सेन्टर हुने छ ।
उद्घाटनका अवसरमा प्रदेश प्रमुख अमिक शेरचनले तिलोत्तमामा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्न,खेलाडी उत्पादन गर्न सहज हुने बताउनु भयाे । पुर्व अर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलले आर्थिक राजधानीको रुपमा विकास भएको रुपन्देहीमा निजी क्षेत्रबाट निर्माण भएको रंगशालाले रुपन्देहीमा लगानीमैत्री वातावरण छ भन्ने पुष्टी गरेको र यसले खेल पर्यटनको माध्यमबाट जिल्लाको आर्थिक समृद्धिमा टेवा पुग्ने धारणा राख्नु भयाे ।
सो अवसरमा पुर्व मन्त्री एवं सांसद छविलाल विश्वकर्मा, पुर्वमन्त्री एवं सांसद गोकर्ण विष्ट,कांग्रेस नेता एवं संघीय सांसद चन्द्र भण्डारी, सांसद बासुदेव घिमिरे,तिलोत्तमाका नगर प्रमुख रामकृष्ण खांण,नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन सिंह लगायतले बोल्दै रंगशाला निर्माणले क्रिकेटको उर्बरभूमि रुपन्देहीलाई क्रिकेट खेलको माध्यमबट विश्वभर चिनाउन थप मद्दत पुगेको बताउनु भयाे ।
मैदान उद्घाटनका अवसरमा लिजेन्ड्स कप टी–१० क्रिकेट प्रतियोगिता समेत आयोजना गरिएको छ । जसमा नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको सन् १९९६ को टोली, सन् २०१४ को टी–२० विश्वकप खेलेको टोली, रूपन्देही लेजेन्ड्स र रेस्ट अफ नेपाल गरी ४ टोलीले सहभागिता जनाएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सन् २०१४ टिमको ,एलबी क्षेत्रीले सन् १९९६ टिमको,कलाम अलीले रेस्ट अफ नेपालको र हरिबहादुर थापाले रुपन्देही लेजेन्ड्स टिमको कप्तानी गरेर खेलेका छन् ।।






प्रतिक्रिया राख्नुहोस्