कोरोना नियन्त्रण उच्च प्राथमिकतामा राख्‍न मुख्यमन्त्रीको निर्देशन

सप्तरी- प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सिङ्गो प्रदेश कोरोनाको उच्च जोखिममा रहेको बताउनुभएको छ ।

कोरोना सङ्क्रमणको अवस्था र रोकथाम एवं नियन्त्रणको तयारी बुझ्न यहाँ आउनुभएका मुख्यमन्त्री राउतले कोरोनाको उच्च जोखिममा रहेको प्रदेश नं २ मा सङ्क्रमण नियन्त्रण तथा रोकथाम कार्यलाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिनुभएको छ ।

राजविराज नगरपालिकामा आज आयोजित सरोकारवालासँगको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वर्तमान अवस्थामा विकास निर्माण कार्यलाई थाँती राखेर जनताको जीवन जोगाउने कार्यमा सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो ।

सप्तरीमा कोरोना भाइरस समुदायस्तरमा प्रवेश गरिसकेको भन्दै पिसिआर परीक्षणको दायरा बढाउनका लागि थप मेसिन उपलब्ध गराउने प्रतिबद्धता दोहोर्‍याउनुभयो ।

स्वास्थ्यकर्मीलाई पिपिइ, मास्क, पञ्जा, स्यानिटाइजर, औषधीलगायतको अभाव हुन नदिन आवश्यक रकमको प्रबन्ध मिलाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै मुख्यमन्त्री राउतले तत्काल सप्तरीमा आवश्यक व्यवस्थापन गर्न रु एक करोड उपलब्ध गराउने घोषणा गर्नुभयो ।

न्यून स्रोतसाधनका बीच कोभिड-१९ रोकथाम तथा नियन्त्रण गर्न स्वास्थ्यकर्मी, स्थानीय सरकारका जनप्रतिनिधि एवं कर्मचारीले निभाएको भूमिकाको उहाँले प्रशंसा गर्नुभयो ।

सोही क्रममा जिल्लामा नदी कटान एवं डुबानको समस्याबारे चर्चा गर्दै मुख्यमन्त्री राउतले बलान नदी नियन्त्रणका लागि तत्काल बजेट उपलब्ध गराउने घोषणा गर्नुभयो ।

दीर्घकालीनरुपमा नदीजन्य एवं डुबानको समस्या समाधानका लागि बृहत् योजना बनाएर अगाडि बढ्न सुझाव दिनुहुँदै मुख्यमन्त्री राउतले भन्नुभयो, “मास्टर प्लान बनाएर ल्याउनुस्, हामीले बजेटको व्यवस्थापन गर्छौं, थप बजेट आवश्यक परे सङ्घीय सरकारलगायत दातृ निकायसँग समन्वय गरेर अगाडि बढ्छौँ ।”

कार्यक्रममा सामाजिक विकासमन्त्री नवलकिशोर साहले आफ्नो गृहजिल्ला रहेको सप्तरीमा कोरोना नियन्त्रण गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । जिल्लामा कुनै पनि उपकरण वा अन्य सामग्रीको अभाव हुन नदिन आफु सचेत रहेको र आवश्यक परेका बेला माग गर्न उहाँले मातहतका निकायलाई निर्देशन दिनुभयो ।

त्यसअघि गजेन्द्रनारायण सिंह अस्पतालका निमित मेडिकल सुपरिटेन्डेन्ट डा रणजीतकुमार झा र स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियालाल यादवले भिटिएमलगायत साधनस्रोत र जनशक्तिको अभावमा काम गर्नु परेकाले समस्या समाधानका लागि माग गर्नुभएको थियो ।- (रासस)

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.