पत्रकार रसिकको ‘पब्लिक स्पिकिङ’ सार्वजनिक

काठमाडौं- पत्रकार तथा साहित्यकार जीतेन्द्र रसिकको पत्रकारिता, उद्घोषण तथा तथा भाषण कलासम्बन्धी पुस्तक ‘पब्लिक स्पिकिङ’ सार्वजनिक भएको छ । ब्रदर बुक्सद्वारा आज आयोजित कार्यक्रमा पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्य तथा पत्रकार ईश्वरीप्रसाद वाग्ले, प्रकाशक यज्ञराज न्यौपाने र बद्री अधिकारीले पुस्तक सार्वजनिक गर्नुभयो । कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै प्रकाशन गृहमै पुस्तक सार्वजनिक गरिएको हो ।

पुस्तक पत्रकारिता सिक्न चाहने र उद्घोषण तथा भाषणकला सिक्न चाहने जो कोहीले उपयोगी रहेको पत्रकार वाग्लेले बताउनुभयो । बीस वर्ष पत्रकारितामा काम गरिसकेका रसिकले आफ्नो अनुभव नयाँ पुस्ताका लागि उपयोगी हुने भएकाले रेडियो, टेलिभिजन, पत्रिका र अनलाइन पत्रकारितामा आउन चाहनेका लागि सरल भाषामा सिकाइ गर्न सकिने गरी पुस्तक लेखिएको बताउनुभयो ।

लेखक रसिकले भन्नुभयो, “सञ्चारमा आउन चाहने वा घरैमा बसेर पनि बोल्ने कला र व्यक्तित्व विकासका लागि यो पुस्तकले सघाउनेछ ।” पुस्तकमा संक्षिप्तरूपमा विश्वकै र नेपालको आमसञ्चार र सञ्चारको इतिहासदेखि, रेडियो, टेलिभिजन, छापा पत्रकारिता अनलाइन, उद्घोषण (रेडियो उद्घोषण, टेलिभिजन उद्घोषण, औपचारिक वा कार्यक्रम उद्घोषण) र भाषणकलालगायतका विषय समेटेका छन् । यो कृति रसिकको दशौँ कृति हो ।

लेखक रसिकका गैर साहित्यका योसहित तीन कृति अलकापुरी भक्तपुर ‘सम्पदा नालीबेली –२०७५’ सर्वरत्न ‘पद्मरत्न तुलाधरको जीवनी–२०७६’ प्रकाशति छन् । त्यस्तै साहित्यतर्फ विभिन्न विधाका सात कृति हृदयस्पर्शी छाल ‘गजल सङ्ग्रह–२०६३’, तारापुञ्ज ‘फाँचल सङ्ग्रह–२०६५’, एलियनको पृथ्वी भ्रमण ‘बालकथा सङ्ग्रह–२०७२’, ‘काफिया गजल सङ्ग्रह–२०७३’, हावा फल्ने रुख ‘बालचित्र कथा–२०७३’, लज्जावती ‘उपन्यास–२०७३’ र एङ्गी बर्ड ‘अङ्ग्रेजी बालकथा सङ्ग्रह–२०७४’ प्रकाशित छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.