बसको ठक्करबाट प्रहरी हबल्दारको मृत्यु

चितवन- चितवनमा बसको ठक्करबाट एक प्रहरीको मृत्यु भएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका-५ भण्डारामा बा३ख १५४७ नम्बरको बसको ठक्करबाट प्रहरी हबल्दार अर्जुनकुमार थापाको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत थापा कार्यालय जानेक्रममा सवार स्कुटरलाई बसले ठक्कर दिएको थियोे । गम्भीर घाइते उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।
ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन
यसैबीच नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चोरखोलामा गएराती पहिरो खसेको थियो । सो पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा आएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनले थप पहिरो पन्छाएर दुईतर्फी सञ्चालनको प्रयास भइरहेको जनाएको छ । सडक एकतर्फी सञ्चालनमा आएसँगै रोकिएका सवारी गन्तव्यतर्फ लागेका छन् ।-






प्रतिक्रिया राख्नुहोस्