जात्रा मनाउन दुई दिन बिदा !

काभ्रे- कोरोना भाइरसको जोखिम बढिरहेका बेला पाँचखाल नगरपालिकाले जात्रा-पर्व मनाउन दुई दिन बिदा दिएको छ । काभ्रेपलाञ्चोकका अन्य स्थानीय तहले भने स्थानीय शक्तिपिठमा जात्रा र मेला नभर्न सार्वजनिक सूचनामार्फत उर्दी नै जारी गरेका छन् ।

पाँचखाल नगरले नजिकिएको जनैपूर्णिमा तथा गाईजात्राको अवसरमा यही साउन १९ र २० गते सार्वजनिक बिदा दिएको हो । “कार्यपालिका बैठकले नै जात्रा-मेलाका लागि बिदा दिने निर्णय भएअनुसार सार्वजनिक बिदा दिइएको हो”, प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर भण्डारीले भन्नुभयो । उहाँले सार्वजनिक बिदासम्बन्धी सूचना निकालेर नगरभित्रका सम्पूर्ण सरकारी कार्यालय तथा शैक्षिक संस्थालाई बिदा दिएकाले स्थानीयवासीलाई उल्लासमय सहभागिता जनाएर जात्रा र पर्व मनाउन आग्रह गर्नुभएको छ ।

नगरका ऐतिहासिक शक्तिपिठ पलाञ्चोक भगवतीलगायत मन्दिरमा बर्षौँदेखि स्थानीय समुदायले उल्लासपूर्ण तवरले पर्व मनाउने भएकाले यस वर्ष पनि बिदा दिने परम्परालाई निरन्तरता दिएको अधिकृत भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना भाइरसको उच्च जोखिम बढिरहेकाले स्वास्थ्य सुरक्षा अपनाउन स्थानीयलाई भनेका छौँ, उहाँहरुले आफ्नो सुरक्षा आफैँ गर्नुपर्ने हुन्छ ।” उहाँले स्थानीय पर्वमा सार्वजनिक दिएर संस्कृतिको प्रवद्र्धन गर्नु स्थानीय सरकारको कर्तव्य रहेको समेत बताउनुभयो । यद्यपि पाँचखालले दिएको सार्वजनिक बिदाको चौतर्फीरूपमा आलोचना भइरहेको छ ।

धुलिखेल नगरले भने यस वर्षको जनैपूर्णिमा तथा गाईजात्रा र हिलेजात्रा भेला भएर नगर्न सार्वजनिक अपिल गरेको छ । जात्रा गर्दा मानिसको भीडभाड हुने र कोरोना भाइरस सङ्क्रमणको जोखिम सम्भावना भएकाले यस वर्ष जात्रा, पर्व भेला भएर नमनाउन आग्रह गरिएको नगरप्रमुख अशोक ब्याञ्जुले जानकारी दिनुभयो ।

तेमाल गाउँपालिकालगायत स्थानीय तहले कोरोनाको जोखिम कायमै रहेकाले जात्रा र पर्व मनाउँदा स्थानीयवासीको भीडभाड हुने भएकाले यस वर्ष घरमै मनाउन आग्रह गरेका छन् । तेमाल गाउँपालिकाले पोखरी नारायणस्थानमा रहेको ऐतिहासिक सत्यनारायण मन्दिरमा यस वर्ष जनैपूर्णिका अवसरमा लाग्ने मेला स्थगन नै गरेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.