८ वर्षपछि पनौती रंगशाला विवाद सल्टियो

काभ्रे– काभ्रेको पनौती नगरपालिका ७ स्थित सिरानचौरमा क्षेत्रिय रंगशाला निर्माणको अवरुद्ध हटेको छ ।

४२ रोपनी जग्गामा निर्माण हुँदै गरेको पनौती क्षेत्रिय रंगशालाको जग्गाको विवाद सकिएको हो । ४२ रोपनी मध्ये १७ रोपनी १४ आना २ पैसा जग्गा स्थानीय कँडेल परिवारको नाममा रहेकाले रंगशाला निर्माणको प्रारम्भ भएदेखि नै विवादका कारण रंगशाला निर्माणले गति लिन सकेको थिएन् ।

‘नगरपालिका र कँडेल परिवारबीच लामो समय मुद्दा मामिलामा अल्झिएको पनौती रंगशाला जग्गा विवाद अब सकिएको छ,’ पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले भन्नुभयो ।

२०६९ सालमा केन्द्रीय बजेटबाट नै बहुवर्षे योजनाका रुपमा पनौती क्षेत्रिय रंगशालामा निर्माणको काम थालनी भएको थियो ।

स्थानीय नानीगिता कँडेल र गणेशकुमारी कँडेलको नाममा रहेको जग्गा नगरपालिकाले ३ करोड ६२ लाख रकममा खरिद गरेको हो । ‘पनौती नगरपालिकाको सभा हलमा कँडेल परिवार र नगरपालिकाबीच सहमति गर्दै सबै मुद्दा मामिलाको अन्त्य गर्ने सहमतिका साथ जग्गा नगरपालिकाको नाममा आएको छ,’ प्रमुख न्यौपानेले भन्नुभयो, ‘अब खेलकुदमा हामी अगाडी बढ्ने छौं ।’

साविक मल्पि गाविस १ नम्बर कित्ता नं. १३२ को जग्गा कंडेल परिवारले पञ्चायतकालमा सार्वजनिक जग्गा आफ्नो नाममा नाम सारी गरेको भन्ने आरोप स्थानियले लगाउँदै आएका छन् । हाल सम्म करिब २१ करोड खर्च भएको छ । नगरपालिका र कँडेल परिवार बिचको मुद्दामा सर्वाच्च अदालतले कँडेल परिवारको जग्गा भएको पृष्टि गरेपछि विवाद उत्सर्गमा पुगेको थियो ।

पाँच हजार भन्दा बढि दर्शक अट्ने क्षमता रहने गरी निर्माण हुन लागेको क्षेत्रीय रंगशालामा स्टेडियम ग्राउन्ड, प्याराफिट, कम्पाउन्ड वाल, मुख्य द्वार, टिकट काउन्टर, प्रशासनिक भवन, स्विमिङ पुल, कभर्ड हललगायतका संरचना निर्माण भइरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.