पत्रकार अधिकारीको कविता संग्रह सार्वजनिक

काठमाडौं– पत्रकार तथा कवि रमेशचन्द्र अधिकारीको कविता संग्रह ‘बुढो गौंडा र इष्टेनीहरु’ कविता संग्रह सार्वजनिक भएको छ ।

शिल्पी थिएटरमा शनिबार भएको कार्यक्रममा वरिष्ठ साहित्यकार तथा संस्कृतिविद् तुलसी दिवसले कविता संग्रह सार्वजनिक गर्नुभयो । कविता संग्रह सार्वजनिक गर्दै साहित्यकार दिवसले ‘बुढो गौंडा र इष्टेनीहरु’ कविता संग्रहले पूर्वाञ्चलको पुरानो मुकाम धनकुटालाई टपक्कै टिपेको टिप्पणी गर्नुभयो । ‘धनकुटाकाले सुन्दरता र मर्मलाई जो कसैले बुझ्न सक्दैनन्,’ उहाँको भनाइ थियो, ‘यस कविता संग्रहले त्यहाँको रितीरिवाज, साँस्कृतिक र ऐतिहासिक पक्षलाई समेटेको छ ।’

पुस्तकमाथि टिप्पणी गर्दै साहित्यकार रत्नमणि नेपालले कविता संग्रहले धनकुटाले फैलाएको संस्कारलाई पुनर्ताजगी गरेको बताउनुभयो । उहाँले कवि अधिकारीले साँस्कृतिक विविधता र भौगोलिक विविधतालाई महत्वपूर्ण स्थान दिएकोमा खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा साहित्यकार गोकुल अधिकारी, पत्रकार राजेश राईलगायतले पत्रकारितामा स्थापित कवि अधिकारीले साहित्यको क्षेत्रमा पनि बलियो उपस्थिति देखाएको टिप्पणी गर्नुभयो ।

‘बुढो गौंडा र इष्टेनीहरु’ कविता संग्रहका लेखक कवि अधिकारीले पृथ्वीनारायण शाहको पालादेखिको प्रशासनिक थलो धनकुटा प्रादेशिक संरचनामा मुलुक गएपछि राजधानी हुनबाट बञ्चित भएपछि आफूले पुनःस्मरण गराउनमात्रै चाहेको बताउनुभयो । कार्यक्रममा उहाँले शीर्ष कविता वाचन गर्नुभएको थियो ।

कान्तिपुर दैनिकका धनकुटा संवाददाता रहनुभएका अधिकारीले चार वर्ष अगाडि गीत संग्रह ‘पहिलो स्पर्श’ सार्वजनिक गर्नुभएको थियो ।

पुस्तक प्रकाशन पूर्वाञ्चल साहित्य प्रतिष्ठानले गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.