कोरोनाको संक्रमण विश्वभर बढ्दो, अमेरिका र ब्राजिलमा दैनिक सरदर हजार जनाको मृत्यु

काठमाडौं- विश्वमा कोरोनाको संक्रमण दर बढ्दो क्रममा नै रहेको छ । विश्वमै अमेरिका, ब्राजिल र भारत कोरोनाबाट बढी प्रभावित छन् । मेक्सिको र दक्षिण अफ्रिकामा पनि संक्रमण र मृत्यु दर बढिरहेको छ ।

अमेरिका र ब्राजिलमा संक्रमण केही घटेजस्तो देखिएपनि भारतमा भने लगातार रुपमा संक्रमण बढिरहेको छ । मेक्सिकोमा संक्रमण दर केही कम भएपनि मृत्यु दर उच्च रहेको छ ।

मेक्सिकोमा ४ लाख २४ हजार कुल संक्रमित रहेका छन् तर मृत्यु हुनेको संख्या भने ४६ हजारभन्दा बढी छ । कोरोनाका कारण हुने मृत्युदरका आधारमा मेक्सिको विश्वमै तेस्रो स्थानमा रहेको छ ।

भारतमा वितेको २४ घन्टामा मात्रै झण्डै ५५ हजार नयाँ संक्रमित थपिएका छन् । भारतमा एकै दिनमा मृत्यु हुनेको संख्या ८ सयभन्दा बढी छ । भारतमा हालसम्म कोरोना संक्रमणका कारण १७ लाख ५१ हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने मृत्यु हुनेको संख्या पनि ३७ हजारभन्दा बढी छ ।

यसैगरी अमेरिकामा पछिल्लो २४ घन्टामा ५७ हजार बढी नयाँ संक्रमित थपिएका छन् भने सरदर दैनिक मृत्युदर १ हजारको हाराहारीमा रहेको छ । अमेरिकामा हालसम्म ४७ लाख ६३ हजारको हाराहारीमा संक्रमित पुगिसकेका छन् भने मृत्यु हुनेको संख्या पनि १ लाख ५७ हजारभन्दा बढी छ ।

यसैगरी ब्राजिलमा वितेको २४ घन्टामा ४२ हजार बढी नयाँ संक्रमित थपिएका छन् भने एकै दिनमा १ हजारभन्दा बढीको मृत्यु भएको छ । ब्राजिलमा २७ लाखभन्दा बढी संक्रमित रहेका छन् भने मृत्यु हुनेको संख्या पनि ९३ हजारभन्दा बढी छ ।

विश्वमा एकैदिनमा २ लाख ३७ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । यो सँगै विश्वमा संक्रमितको संख्या १ करोड ८० लाखको नजिक संक्रमित पुगेको छ भने मृत्यु हुनेको संख्या पनि ६ लाख ८७ हजार नाघेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.