आगामी महिनाबाटै ठूलो परिमाणमा कोरोना विरुद्धको खोप उत्पादन गर्ने रूसको दावी

खोप तत्काल बन्नेमा विश्वस्त नरहेको डब्लुएचओको भनाइ

काठमाडौं- रूसले कोरोना भाइरस विरुद्धको खोप आगामी महिनाबाटै ठूलो मात्रामा उत्पादन सुरु गर्ने र सन् २०२१ को सुरूसम्ममा प्रतिमहिना लाखौं मात्रामा खोपको उत्पादन गर्ने दावी गरेको छ ।

रूसले खोपका धेरै नमूनाहरूको अनुसन्धानलाई अगाडि बढाएको जानकारी दिंदै मस्कोको गमलेया इन्स्टिच्युटमा तयार गरिएको खोपको विकास उन्नत चरणमा पुगेको जनाएको छ । रुसी उद्योगमन्त्री डेनिस मन्तुरोभले सेप्टेम्बरबाटै खोपको उत्पादन शुरु गर्ने बताउनु भएको छ ।

आगामी सेप्टेम्बरदेखि खोप ठूलो मात्रामा उत्पादन शुरु गर्ने जनाउँदै सन् २०२१ को शुरूसम्ममा करोडौंको मात्रामा खोपको उत्पादन गर्ने रुसको दाबी छ । खोप विकासमा लागेको सो संस्थाले मध्य रूसका तीन स्थानमा उत्पादन प्रविधि तयार गरिरहेको पनि रूसी समाचार संस्थाहरूले जनाएका छन् ।

रुसी स्वास्थ्य मन्त्री मिखाइल मुरास्कोले गमलेयाले तयार पारेको खोपको क्लिनिकल परीक्षणहरू सम्पन्न भइसकेको र राज्यमा दर्ताका लागि आवश्यक प्रक्रिया सुरू भइरहेको जानकारी दिनुभयो ।

यसैगरी साइबेरियामा रहेको भेक्टोर प्रयोगशालाले विकसित गरेको अर्को खोप हाल क्लिनिकल परीक्षणमा रहेको र अर्को दुई महिनामा मानवमा परीक्षण सुरु गरिने पनि उहाँले जानकारी दिनुभयो ।

विश्व स्वास्थ्य संगठनले भने कोरोना भाइरस विरोद्धको खोप बन्छ भन्ने आशा रहेको तर तत्काल बनिहाल्छ भन्नेमा विश्वस्त नरहेको जनाएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस आधानमले समाचार ब्रिफिङका क्रममा खोप विकासमा खासै सफलता हासिल नभएको बताउँदै खोप कहिल्यै नबन्न पनि सक्छ भन्दै चेतावनी दिनुभयो ।

डब्लुएचओ प्रमुख टेड्रोसले संसारभरका मानिसलाई सामाजिक दूरी कायम गर्ने, हात धुने र मास्क लगाउने जस्ता बानीलाई निरन्तरता दिन समेत आव्हान गर्नुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.