युद्ध हुनुको कारणको खोजी नभई युद्धबिराम हुँदैनः तालिबान

काबुल- अफगानिस्तानमा युद्धरत तालिबान विद्रोही समूहले मुलुकमा युद्ध हुनुको मुख्य कारणबारे छलफल नभई युद्धबिराम गर्न नसकिने बताएको छ ।

तालिबान समूहका प्रवक्ता मोहम्मद नईमले प्रारम्भिक चरणको वार्ता शुरु भएलत्तै तालिबान समूहले हिंसात्मक कारबाहीमा कमी ल्याएको दाबी गर्नु भयो । उहाँले तर सरकारी फौजले आक्रामक कारबाही जारी राखेकामा दुःख व्यक्त गर्नुभयो ।

प्रवक्ता नईमले भन्नुभयो, “बीस वर्षदेखिको युद्ध एक घण्टामै अन्त्य हुन सक्दैन भन्नेमा सबै विश्वस्त हुन आवश्यक छ । हाम्रो दृष्टिकोणमा वर्तमान समस्या र युद्धका मुख्य पक्षहरुका बारेमा छलफल गरिनु सान्दर्भिक हुन्छ ताकि यो समस्यालाई स्थायी रुपमै समाधान गर्न सकिन्छ ।” उ

हाँले थप्नुभयो, “मानिलिउँ, आजै हामीले युद्धबिराम घोषणा गर्यौं, तर भोलि हामी सहमतिमा पुगेनौं भने त्यसको जिम्मेवारी कसले लिन्छ ? के हामीले फेरि युद्ध शुरु गर्नु ? यसको अर्थ के हो ?” उहाँले तालिबानको मुख्य चाहना नै अफगानिस्तानलाई इस्लामिक राष्ट्र बनाउनु हो र यसका बारेमा आमजनता र मुलुक नै दृढ छ भन्नुभयो ।

प्रवक्ता नईमले भन्नुभयो, “हाम्रो अर्को उद्देश्य अफगानिस्तानमाथिको विदेशी अतिक्रमण अन्त्य गर्नु हो ।” उहाँले वार्तामा उतारचढाब भए पनि अफगान र तालिबान प्रतिनिधिमण्डलबीचको वार्ता सकारात्मक निष्कर्षमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले आफूहरु बलियो इच्छाशक्ति र प्रतिबद्धताका साथ शान्ति प्रक्रियामा प्रवेश गरेको बताउँदै विभिन्न जटिलताका बाबजूद यो प्रक्रिया सहज रुपमा अघि बढ्नेछ भन्नुभयो ।

अफगान सरकार र तालिबानबीच कतारको दोहामा वार्ता हुन थालेको पाँच दिन पुगिसकेको छ । यो अफगान सरकार र तालिबानबीचको पहिलो औपचारिक वार्ता हो । सूत्रका अनुसार औपचारिक सम्झौताका लागि दुबै पक्षबीच कार्यविधि र विधिका बारेमा सहमति जुट्न सकेको छैन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.