काठमाडौं महानगरका १० वडाको राजश्व अनलाइनबाट

काठमाडौं– काठमाडौं महानगरपालिकाले बिहीबारदेखि १० वटा वडाबाट राजस्व निर्धारण तथा संकलन कार्यलाई अनलाइन प्रणालीमा लगेको छ ।

प्रणाली सञ्चालन गर्न कर्मचारीको क्षमता बिकास गर्दै आउँदो हप्ताभित्र सबै वडामा लागु गर्ने योजनासहित वडा नम्बर २६ बाट सेवा सुरु गरिएको हो । महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले स्थानीय करदाता सरस्वती सापकोटालाई प्रणालीबाट प्राप्त भएको रसिद हस्तान्तरण गर्दै सेवा शुभारम्भ गर्नुभएको हो । सापकोटाले भूमिकर शीर्षकमा विवरण भर्नुभएको थियो ।

सेवा शुभारम्भ गर्दै प्रमुख प्रशासकीय अधिकृत अर्यालले महानगरका हरेक सेवालाई विद्युतीय प्रणालीमा रुपान्तरण गर्दै लगेको जानकारी दिनुभयो । अबको प्रशासन सहभागितामुलक, पारदर्शी हुनुपर्नेमा जोड दिँदै उहाँले त्यसका लागि प्रबिधि नै उपयुक्त विकल्प रहेको बताउनुभयो ।

अनलाइन प्रणालीले करदाताको अभिलेखीकरण र राजश्व प्रक्षेपण योजनामा ठूलो सघाउ पुग्ने सहसचिव राजेश्वर ज्ञवालीले जानकारी दिनुभयो । वडा नम्बर २६ का अध्यक्ष एवं सूचना प्रबिधि समितिका सदस्य ख्यामराज तिवारीले, विद्युतीय प्रणालीबाटै कर मुल्याङ्कन गर्नु र निर्धारित कर भुक्तानी गर्नु स्मार्ट सिटी निर्माणका लागि पहिलो शर्त भएको टिप्पणी गर्नुभयो ।

सफ्टवेयर निर्माण गरेको सांग्रिला इन्फरमेटिक्सका अध्यक्ष वसन्त वनले महानगरले सञ्चालनमा ल्याएको अनलाइन प्रणालीलाई विद्युतीय शासन, पारदर्शी सेवासँगै स्वास्थ्य सुरक्षाका कोणबाट पनि महत्वपूर्ण मान्न सकिने बताउनुभयो । ‘सार्वजनिक सेवालाई भरपर्दो, सुलभ, गुणस्तरीय र पहुँचयोग्य बनाउन यस प्रकारको प्रणाली अनिवार्य आवश्यकता हो । कोरोना महामारीका कारण स्वयं उपस्थित भएर सेवा प्रदान गर्न असहज भएको यस अवस्थामा विद्युतीय प्रणाली विकास गर्ने र कार्यान्वयन गर्ने उपयुक्त अवसर पनि हो,’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.