कोरोना कहरः बजार नपाएपछि बाख्रालाइ तेजपत्ता

झापा- विगत तीन दशकदेखि हात्तीपीडित गाउँको रुपमा चिनिदैं आएको झापाको बाहुनडाँगी अहिले औषधीय गुणयुक्त तेजपत्ताको पकेट क्षेत्रको रुपमा परिचित छ । तर कोभिड-१९ को महामारीले बजारमा असर परेपछि तेजपत्ता उत्पादन गर्दै आएका किसान मारमा परेका छन् ।

मेचीनगर नगरपालिकाको वडा नं. १, २, ३, ४ र ५ मा फैलिएको साविक बाहुनडाँगी गाविसमा करिब एक हजार किसानले आफ्नो खेतबारीमा तेजपत्ताको बोट हुर्काएका छन् । विगतमा भारतीय बजारमा लैजाने विचौलिया व्यापारी तेजपत्ता किन्न गाउँगाउँ डुल्थे । यसपाली कोरोनाको डरले बाहिरबाट व्यापारी आएका छैनन् ।

चिया, मसला र औषधीको रुपमा प्रयोग हुँदै आएको तेजपत्ताको बोट हुर्किएको तेस्रो वर्षदेखि हरेक वर्ष तीनपटक यसको पात टिपेर उत्पादन गरिन्छ । सुगन्धित र स्वादिष्ट हुने भएकोले खानेकुरामा पकाएर समेत यसको उपभोग हुने गरेको छ ।

मेचीनगर–४ आमडाँगीमा १५ विगाहा निजी जग्गामा चियाखेती गर्दै आउनुभएका व्यावसायिक किसान रबि नेपालले चियाको बोटलाई छायाँ दिन पाँच हजारभन्दा बढी तेजपत्ताको बोट हुर्काउनु भएको छ ।

बाहुनडाँगीमा एक सयदेखि १० हजार बोटसम्म तेजपत्ता हुर्काएका किसानको सङ्ख्या एक हजारसम्म हुनसक्ने उहाँ बताउनुहुन्छ । तर कति किसानले यसको खेती गरेका छन् र यसबाट के कस्तो लाभ भइरहेको छ भन्ने बारेमा अहिलेसम्म सरकारी तहबाट खोज भएको छैन ।

बजार नपाएपछि बाख्रालाई घाँस

बाहुनडाँगीमा मात्र ५० देखि ६० करोड रुपैयाँ मूल्य बराबरको तेजपत्ता वर्षेनी उत्पादन हुने देखिन्छ । बजारिकरण हुन नसकेर तेजपत्ता बोटमै खेर गइरहेको र कतिपयले बाख्रालाई घाँस खुवाउने गरेको पाइएको छ । विसं २०६७ देखि तेजपत्ता खेतीमा लागेका नेपाल बन्धु कृषि फर्मका सञ्चालक रबि नेपाल आफुले अलिकति भए पनि प्रशोधन र ब्रान्डिङ गरेर प्रदेश नं. १ को अधिकांश बजारमा तेजपत्ताको विक्री गर्दै आएको बताउनुहुन्छ ।

दशैँ, तिहार जस्ता चाडबाडका बेला विगतमा तेजपत्ताको माग ह्वात्तै बढ्थ्यो । यसपाली कोभिड–१९ को महामारीका कारण बजार सुस्ताएको हुँदा विगतको जस्तो भारतीय बिचौलियाहरु काँचो तेजपत्ता किन्न घरघरै नआएको स्थानीय किसानहरु बताउँछन् । किन्ने भारतीय व्यापारी नआएपछि हुर्किएको तेजपत्ता कि बोटमै खेर जान्छ, कि त बाख्रालाई घाँसको रुपमा खुवाउन बाध्य छन् किसान ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.