विद्युत् आपूर्ति नहुँदा नेपाली कागज उद्योग बन्द

बागलुङ- नियमित विद्युत् आपूर्ती हुन्थ्यो भने यतिवेला पाण्डवखानीमा धमाधम नेपाली हाते कागज उत्पादन भइरहेको हुन्थ्यो । तर, गलकोट नगरपालिका-१० पाण्डवखानीमा रहेको घुम्टे हाते कागज उद्योग पछिल्लो ७ महिनादेखि बन्द छ ।

केन्द्रीय विद्युत्को पहुँच नपुगेको पाण्डवखानीमा स्थानीय लघु जलविद्युत्को उत्पादन विस्तारै घट्दै गएपछि गत वर्षको माघदेखि यता उद्योग सञ्चालन गर्न नसकिएको हो ।

पाण्डवखानीको सामुदायिक तथा नीजि वनमा पाइने अर्घेली र बरुवा जातको रुखबाट उत्पादन हुने लोक्ता प्रशस्त पाइने भएपछि स्थानीय चुडाबहादुर राना चार वर्षदेखि नेपाली हाते कागज उद्योग सञ्चालनमा सक्रिय हुँदै आउनुभएको थियो । लघु जलविद्युत्बाट सञ्चालन गरिँदै आएको हाते कागज नियमित विद्युत् आपूर्तिमा समस्या आएपछि बन्द भएको हो ।

लोक्ताको अभाव नभएका कारण भने जति उत्पादन गर्न सकेको उद्योगमा पाँच जनाले नियमित रोजगारी पाउँदै आएका थिए । यहाँ उत्पादन हुँदै आएको नेपाली हाते कागज बागलुङ, पोखरा र काडमाडौँ बिक्री हुँदै आएको थियो ।

उद्योगमा स्थानीय माउखोला लघुजलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् प्रयोग गरिँदै आएको थियो । उद्योगलाई नियमित ८ किलोवाट विद्युत् आवश्यक भए पनि लघु जलविद्युत्ले जम्मा १२ किलोवाट मात्रै विद्युत् उत्पादन गरेपछि स्थानीयलाई मात्रै विद्युत् बाल्न पुगेको छ ।

पूरा क्षमताको विद्युत् आपूर्तीमा समस्या भएपछि विद्युतीय उपकरणमा समेत क्षति पुग्ने गरेको छ । हाते कागजको निकै सम्भावना रहेको पाण्डवखानीमा उद्योगलाई पुनः सुचारुका लागि केन्द्रिय विद्युत्को आवश्यकता देखिएको छ ।

उत्पादन भएको नेपाली कागजलाई चौडाई ३० र लम्बाई४० इन्चको कागजलाई गुणस्तरका आधारमा रु ८ देखि ४० रुपैयाँ पर्ने गरेको छ । माघअघि उत्पादन भएको हाते कागज बन्दाबन्दीकै बीचमा बिक्री गर्नुभएका रानाले कागजबाटै वार्षिक रु ३० लाखको आर्थिक कारोवार गर्दै आएको बताउँनुहुन्छ । उद्योगमा अहिले २१५ थान कागज सुकाउने फ्रेम रहेका छन् । केन्द्रीय विद्युत् गाउँ आउना साथ फ्रेम थपेर ५०० पुर्‍याउने उहाँको लक्ष्य छ ।

अहिले पाण्डवखानीमा केन्द्रीय विद्युतिकरणका लागि पोल गाड्ने र तार टाँग्ने काम भइरहेको नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले जनाएको छ । केन्द्रीय विद्युतिकरणका लागि केही महिना लाग्ने नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिवनारायण गोशलीले जानकारी दिनुभयो ।

बागलुङ जिल्लाको ताराखोलामा समेत हाते कागज उद्योग सञ्चालन हुँदै आएको छ । बागलुङमा उत्पादन भएको नेपाली हाते कागजको माग उच्च छ । नेपाली कागज सरकारी कामकाजका लागि बढी प्रचलनमा आउने गरेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.