लिमीका स्थानीयले अहिलेसम्म आयोडिनयुक्त नुन चाखेका छैनन् !

हुम्ला- हिमालपारीको गाउँको नामले चिनिने जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमी गाउँका स्थानीय अहिलेसम्म पनि पुराङको ढिके नुनको भर पदै आएका छन् ।

सरकारबाट प्राप्त हुने आयोडिनयुक्त नुनको मुल्य भन्दा ढुवानी मुल्य बढी पर्ने हुँदा लिमेली जनता अहिलेसम्म पनि ढिके नुन प्रयोग गर्न बाध्य भएका हुन ।

साल्ट टेडिङ्ग कर्पोरेशन जिल्ला शाखा हुम्लाले पटक पटक आयोडिनयुक्त नुन लिन अनुरोध गरेपनि लिमेली जनता नुनको मुल्य भन्दा ढुवानी मुल्य महँगो भएको भन्दै नुन किन्न इन्कार गर्दै आएका छन ।

ढिके नुनभन्दा दशौं गुणा बढी ढुवानी भाडा पर्ने भएकोले पुराङबाट सस्तोमा आउने ढिके नुनको प्रयोग गर्न बाध्य भएको वडाध्यक्ष पाल्जोर तामाङ बताउनुहुन्छ ।

“आयोडिनयुक्त नुन प्रयोग गर्न मन त छ तर अति महग्रो ढुवानी भाडाले ढाड सेकेपछि बाध्य भएर यसको प्रयोग अहिलेसम्म हामीले गरेका छैनौं”- वडाध्यक्ष तामाङ भन्नुहुन्छ । आयोडिनयुक्त नुन जिल्ला बाहिर गएपछि मात्रै देखेको तर गाउँमा आयोडिनयुक्त नुन नदेखेका जाङ गाउँका सुङडुप तामाङको भनाइ छ ।

आयोडिनयुक्त नुन प्रयोग गर्न मन थियो तर यो नुन गाउँमा पुग्दैन उनले बताए ।

लिमीका तीन गाउँमा १ सय ८० घरपरिवार छन् ।

तर वर्षौदेखि ताक्लाकोटबाट ल्याइएको ढिके नुनको प्रयोग गर्न उनीहरु बाध्य छन् । हिल्सा र सिमकोटमा प्रति केजी ९ रुपैँया मुल्य पर्ने नुनको ढुवानी १ सय रुपैया पर्ने भएपछि वर्षौदेखि ढिके नुन प्रयोग गर्दै आएको स्थानीय छमजोक लामाले बताइन् ।

ताक्लाकोटको ढिके नुन भएन भने यहाँ नुनकोसमेत समस्या हुन्छ । सरकारले दिँदै आएको नुन कहाँ आउँछ लामालाई थाहा छैन ।

आयोडिनयुक्त नुन उत्तरी नाम्खा गाउँपालिका–६को लिमीका तीन गाउँ तिल,जाँङ्ग,हल्जीसम्म नपुगेपछि तिल गाउँका ३० घरधुरी,हल्जीका ९० घरधुरी,जाँङ्गका ६० घरधुरी गरी १ सय ८० घरधुरी आयोडिन नुनबाट वर्षैदेखि बञ्चित हुँदै आएका छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.