बेथान नारायणस्थानडाँडामा सूर्योदयको दृश्यावलोकन गर्न पर्यटकको भिड

काभ्रे- काभ्रे जिल्लाको सबैभन्दा अग्लो भूगोल बेथानचोक नारायणस्थान डाँडामा हिजोआज सूर्योदयको दृश्यावलोकन गर्नेको भिड बढेको छ ।

बेथानचोक गाउँपालिका वडा नं. ३ मा पर्ने नारायणस्थान डाँडा भौगोलिक हिसाबले निकै अग्लो स्थानमा रहेकोले सो स्थानबाट हिमालय श्रृंखलाहरुदेखि तराईका भूभाग लगायत आसपासका भौगोलिक दृश्यहरु सजिलै हेर्न सकिने भएको कारणले गर्दा पनि यहाँ पर्यटकको घुँईचो बढेको हो ।

समुन्द्री सतहबाट तीन हजार १८ मिटरको अग्लो स्थानमा रहेको सो ठाउँबाट विहानीको सूर्योदय हेर्न पर्यटकहरु पुग्ने गर्दछन् । पर्यटकहरु विहानीको सूर्योदय हेर्नका लागि बेलुका नै सो ठाउँमा गएर टेण्टको एक रात बसाई गरी विहानै सूर्यको सुनौलो किरणसंगै रम्ने गर्दछन् । सूर्यदेवको दर्शनसंगै त्यही रहेको ऐतिहासिक नारायणको मन्दिरमा दर्शन गरी फर्कने गरेको त्यहाँ पुगेका पर्यटकहरु बताउँछन् ।

यसरी पर्यटकको रोजाईमा परेको नारायणस्थान डाँडामा कोरोना भाईरस प्रभावका कारण बन्दाबन्दीको समयमा स्थानीय सरकारले आवतजावतमा रोक लगाउनुका साथै मन्दिर समेत बन्द गरेको अवस्थामा पछि पर्यटकहरुको धेरै अनुरोधका कारण सो क्षेत्रमा प्रवेश गर्न खुल्ला गरेको बेथानचोक गाउँपालिका वडा नं. ३ का अध्यक्ष दिलबहादुर श्रेष्ठले बताउनुभयो ।

सो ठाउँमा घना जंगल रहेको र पर्यटकहरु हराउन सक्ने सम्भावना रहेकोले अब पालिकाले तल गेल्डुङबजारबाट नाम संकलन गरेर मात्रै नारायणस्थानडाँडा प्रवेशको लागि अनुमति दिने ब्यवस्था गर्न लागेको गाउँपालिकाले जनाएको छ ।

त्यससँगै स्थानीय सरकारले सो क्षेत्रमा जानका लागि भौतिक विकासको पूर्वाधार निर्माणका कार्यलाई अगाडी बढाएको छ ।
सो क्षेत्रमा अचेल काभ्रे जिल्ला लगायत उपत्यका र देशैभरिका आन्तरिक पर्यटकहरु एक रात बसेर दृश्यावलोकन गरी फर्कने गरेका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.