दामन भ्यूटावर चार महिनादेखि बन्दः पर्यटक खिन्न हुँदै फर्किदै

मकवानपुर- मकवानपुरको पर्यटकीय क्षेत्र दामनको भ्यूटावरका बारेमा अपरिचित कमै होलान् । हाजिरी जवाफ प्रतियोगिता र लोकसेवा परीक्षामा समेत सोधिने प्रश्न हो- नेपालको शीतल भ्यूटावर ।

दामनमा रहेको यो शीतल भ्यूटावर अहिले बन्द छ । गत असोजदेखि भ्यूटावर पूर्णरूपमा बन्द रहेको दामन बजार व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष टासी शेर्पाले जानकारी दिनुभयो ।

कोभिड–१९ का कारण लकडाउन घोषणा भएयता भ्यूटावरमा आउने पर्यटकको सङ्ख्या कमी हुँदै गएको थियो । लकडाउन खुकुलो भएसँगै विस्तारै पर्यटकको सङ्ख्या वृद्धि हुन थाले पनि भ्यूटावरमा रहेका दूरविनमा समस्या भएको जनाउँदै ग्राहकले व्यापक गुनासो गर्न थालेपछि भ्यूटावर व्यवस्थापनले टावर बन्द गरेको हो । भ्यूटावरसँगै सञ्चालनमा रहेको रिसोर्ट पनि बन्द भएको छ ।

दामन भ्यूटावर एण्ड रिसोर्टका सञ्चालक प्रकाश होटल इन्टरनेश्नलका प्रतिनिधि भरत गोपालीले भ्यूटावरमा नयाँ दूरविन राख्न र टावर मर्मत गर्न नगरपालिकालाई पटक-पटक अनुरोध गर्दा पनि समस्या समाधान नभएकाले टावर बन्द गर्नुपरेको जानकारी दिनुभयो ।

थाहा नगरपालिकाले दामन भ्यूटार र रिसोर्ट दुवै सञ्चालन गर्ने गरी विसं २०७५ कात्तिक १५ गते प्रकाश होटल इन्टरनेशनललाई पाँच वर्षका लागि ठेक्कामा दिएको थियो । कूल रु ४७ लाख ६३ हजारमा ठेक्कामा लिएकामा नगरपालिकाले नयाँ दूरविन उपलब्ध नगराएको, अन्य पूर्वाधार निर्माणमा पनि सहयोग नगरेको र कोभिड-१९ का कारण चल्न नसकेको जनाउँदै सो इन्टरनेश्नलले सम्झौतामा पुनःविचार गर्न माग गर्दै आएको छ ।

विसं २०२१ मा तत्कालीन राजा महेन्द्रले रानी इन्द्र राज्य लक्ष्मीको आग्रहमा भ्यूटावरको निर्माण गर्नुभएको थियो । नेपालकै पहिलो भ्यूटावर टावरको रूपमा रहेको भ्यूटावरको नाम शीतल भ्यूटावर राखिएको थियो । थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टले समेत होटल सञ्चालन गर्नुभएको भ्यूटावरमा दुई शक्तिशाली दूरविन राखिएका थिए । दूरविनबाट विश्वको सर्वोच्च शिखर सगरमाथासहित दर्जन बढी हिमशृङ्खला नजिकै देख्न सकिन्थ्यो ।

अहिले भ्यूटावर र रिसोर्ट दुवैको मूलढोकामा ताल्चा झुण्ड्याइएको छ । दामनको पर्यटकीय मनोरम हावापानीमा रम्दै भ्यूटावरमा रहेको दूरविनबाट दृश्यावलोकन गर्ने योजना बनाएर दामन आउने पर्यटक खिन्न हुँदै फर्किने गरेका छन् ।

गर्मीयाममा अति गर्मी र जाडोयाममा हुस्सुले निस्सासिँदो तराई र सीमावर्ती भारतीय पर्यटकका लागि दामन उपयुक्त गन्तव्य हो ।

काठमाडौँको धुवाँ, धुलो र भीडभाडबाट मुक्त भएर प्राकृतिक सुन्दरतासँगै आनन्द लिन पनि दामन उपयुक्त छ । तर भ्यूटावर बन्द हुँदा यस वर्ष नयाँ वर्षमा समेत दामन पर्यटकको गन्तव्य बन्न नसकेको थाहा होटल एशोसिएशनले जनाएको छ । भ्यूटावर सञ्चालन गरेर दूरविनको व्यवस्था मात्रै गर्न सके पनि दामन पुरानै लयमा फर्किन सक्ने एशोसिएशनका अध्यक्ष खत्रीले बताउनुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.