नेपाली टेलिभिजनको इतिहासमा ‘नेपाल टेलिभिजन’

काठमाडौं- विश्वमा टेलिभिजन प्रसारण शुरु भएको झण्डै ५० वर्षपछि नेपालमा टेलिभिजन प्रसारण प्रारम्भ भएको हो । नेपालमा पहिलोपटक २०४१ माघ १७ गते अर्थात् सन् १९८५ जनवरी ३० मा नेपाल टेलिभिजनको स्थापना भएको थियो ।

सन् १९३० को दशकमा विश्वमा टेलिभिजन प्रसारण आरम्भ भएको मानिन्छ ।

बेलायतमा बीबीसीले सन् १९३६ बाट नियमित टेलिभिजन प्रसारण आरम्भ गरेको थियो । अमेरिकामा पनि सन् १९३६ मै नेशनल ब्रोडकास्ट टेलिभिजनको स्थापना भएको थियो ।

विश्वमा टेलिभिजन प्रसारण ‘व्लाक एण्ड ह्वाइट’ प्रविधिबाट भएको थियो । विश्वमा टेलिभिजन प्रसारण शुरु भएको झण्डै १८ वर्षपछि सन् १९५४ मा रंगिन टेलिभिजनको प्रसारण शुरु भएको मानिन्छ ।

छिमेकी मुलुक भारतमा पनि सन् १९५९ मा टेलिभिजन प्रसारण शुरु भएको थियो । तर रंगिन टेलिभिजन प्रसारण भने सन् ८० को दशकमा मात्रै शुरु भएको हो । विश्वमा टेलिभिजनको विकासक्रमको गति नियाल्दा नेपालमा निकै पछि मात्रै टेलिभिजन प्रसारण शुरु भएको पाइन्छ ।

टेलिभिजन प्रसारण ढिलो शुरु भए पनि नेपालमा एकै पटक रंगीन टेलिभिजन प्रसारण शुरु भएको थियो। यस अर्थमा नेपाल टेलिभिजनको ‘ब्लाक एण्ड ह्वाइट’ प्रसारणको इतिहास छैन ।

प्रविधिका दृष्टिले रंगीन टेलिभिजनको प्रसारण भएपनि सर्वसाधारणका घरमा ‘ब्लाक एण्ड ह्वाइट’ टेलिभिजन सेटहरु भएकाले लामो समयसम्म आम दर्शकले ‘ब्लाक एण्ड ह्वाइट’ दृश्यहरु नै हेरेका थिए ।

विश्वमा टेलिभिजन शुरु भएको ५ दशक र भूउपग्रहबाट प्रसारण भएको २४ वर्षपछि नेपालमा टेलिभिजन स्थापनको बहस शुरु भएको थियो ।  त्यति बेलासम्म नेपालमा पनि केही सिमित र हुनेखानेहरुका घरमा टेलिभिजन सेटहरु रहेका थिए । नेपालको आफ्नै टेलिभिजन प्रसारण नभएकाले भारतीय टेलिभिजन च्यानल दूरदर्शनबाट प्रसारण हुने हिन्दी कार्यक्रम नेपाली दर्शकहरुले हेर्ने गर्थे ।

एकातिर भारतीय संस्कृति हावी हुने चिन्ता रहेको थियो । अर्कोतर्फ नेपालमा टेलिभिजन प्रसारण शुरु गर्न मुलुकले धान्न नसक्ने भन्दै तत्कालिन राष्ट्रिय पञ्चायतमा चर्को बहस भएको थियो ।

गरिबी र भौगोलिक विकटता रहेको नेपाल जस्तो मुलुकले  टेलिभिजन जस्तो विलासी सञ्चार माध्यम धान्न सक्दैन भन्नेहरुको नीति निर्माण तहमा तत्कालिन समयमा वाहुल्यता थियो ।

बहसकैबीच २०४१ सालमा परियोजनाका रुपमा नेपाल टेलिभिजनको स्थापना भएको थियो । परियोजनाको नेतृत्व तत्कालीन शाही नेपाल चलचित्र संस्थानका नायव महाप्रवन्धक नीर शाहलाई दिइएको थियो ।

नेपाल टेलिभिजन नेपालको पहिलो टेलिभिजन च्यानल हो । UHF प्रविधिमा परीक्षण प्रसारण शुरु भएको नेपाल टेलिभिजनको नियमित प्रसारण भने २०४२ पुस १४ बाट VHF प्रविधिबाट शुरु भएको थियो ।

भूसतही प्रसारण रहेको नेपाल टेलिभिजनको २०५८ सालबाट भने भूउपग्रह मार्फत् विश्वका १ सय ४० देशमा प्रसारण पहुँच पुगेको छ ।

विगतमा ‘एनालग’ प्रविधिमा प्रसारण भएको भूसतही प्रसारण पनि विभिन्न प्रसारण केन्द्रहरुमार्फत् डिजिटल प्रविधिमा रुपान्तरण भइसकेको छ । दुई वटा प्रादेशिक च्यानलसहित नेपाल टेलिभिजनका हाल पाँच वटा च्यानलहरु संचालनमा रहेका छन् ।

नेपाल टेलिभिजनको प्रसारण एस.डी. हुँदै हाल पाँच वटै च्यानल एच.डीमा प्रसारण भइरहेका छन् ।

नेपाल टेलिभिजनको प्रसारण पहुँच ७२ प्रतिशत जनसंख्या र ५० प्रतिशत भूगोलमा रहेको छ । प्रविधिमा रुपमान्तरण गर्दै 4K मा जाने नेपाल टेलिभिजनको अवको लक्ष्य हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.