खाँचो ‘एनटीभी वर्ल्ड’ को

काठमाडौं- नेपाली हवाई उड्डयनको क्षेत्रमा २०५६ साल पुस ९ गतेको दिनलाई कालो दिनका रूपमा लिइन्छ । त्यस दिन काठमाडौँबाट नयाँदिल्लीका लागि प्रस्थान गरेको इन्डियन एयरलाइन्सको आइसी–८१४ नम्बरको विमान अपहरणमा परेको थियो ।

यात्रुका रूपमा रहेका पाँच जनाले विमानको अपहरण गरेका थिए । विमानमा चालक दलका ११ सदस्य तथा १८९ यात्रु थिए । अपहरणकारीहरूको चाहनाबमोजिम विमानलाई विभिन्न स्थानमा लैजानुका साथै विभिन्न तहको प्रयत्नपछि सन् १९९९ को अन्तिम दिन डिसेम्बर ३१ तारिख अर्थात् २०५६ साल पुस १६ गते अपहरणकारीहरूले अपहरित विमान र यात्रुहरूलाई अफगानिस्तानको कान्दाहारमा मुक्त गरेका थिए ।

भारत सरकार भारतीय कारागारमा रहेका अपहरणकारीका तीन जना बन्दीलाई छोड्न सहमत भएपछि अपहरणकारीहरूले विमानमाथिको कब्जा छाडेका थिए । तर भारतीय सञ्चार माध्यमहरूले विमान अपहरणसम्बन्धी समाचार सम्पे्रषण गर्दा अपहरणमा नेपालीको पनि संलग्नता रहेको तथा अपहरणकारीहरूलाई नेपालमा सेल्टर दिइएको जस्ता झुठा समाचार एकोहोरो प्रचारप्रसार गरेका थिए । त्यतिखेर नेपाली सञ्चार माध्यमले त्यसको खण्डन गरे पनि प्रसारणको सीमित दायराका कारण नेपालको आधिकारिक धारणाले त्यति व्यापकता पाउन सकेन ।

नेपालमा घटेका विभिन्न घटनामा विदेशी सञ्चार माध्यमको आफ्नै खालको समाचार सम्पे्रषण गर्ने प्रवृत्ति यो पहिलो थिएन । २०४४ साल फागुन २९ गते दशरथ रङ्गशालामा तत्कालीन जनकपुर चुरोट कारखानाको फुटबल टिम र बङ्गलादेशको मुक्ताजोद्धा क्लबबीच त्रिभुवन च्यालेन्ज कपको फाइनलको बेला हावाहुरीबाट बच्न भएको भागदौडमा परी ७० जनाभन्दा बढीको मृत्यु भएको घटना विश्वमा वर्षभरिकै चर्चित घटनामा परेको थियो ।

यस्तै २०४६ सालको जनआन्दोलनको समाचार पनि अन्तर्राष्ट्रिय चासोको विषय बनेको थियो । २०४९ सालमा एकै वर्ष नेपालमा भएका दुई वटा ठूला हवाई दुर्घटना पनि अन्तर्राष्ट्रिय सञ्चार माध्यममा महìवपूर्ण घटनाका रूपमा छाएका थिए । त्यतिखेर नुवाकोटको घ्याङफेदीमा थाई एयरवेजको विमान दुर्घटना हुँदा ११३ जना तथा काभ्रेको भट्टेडाँडामा भएको पाकिस्तान एयरलाइन्सको विमान दुर्घटनामा १५७ जनाको निधन भएको थियो ।

२०५८ साल जेठ १९ गते भएको राजदरबार हत्या काण्डपछि विश्वभरका सञ्चार माध्यमहरूले आआफ्नै हिसाबले समाचार सम्पे्रषण गरेका थिए । त्यतिखेर आधिकारिक निकायले पनि घटनाको पुष्टि गर्न लामो समय लगाएको थियो । जेठ १९ गते रातिको राजदरबार घटनासम्बन्धी जानकारी तत्कालीन राज परिषद् स्थायी समितिको बैठक बहादुर भवन काठमाडौँमा भोलिपल्ट जेठ २० गते बसेपछि दिउँसो १ बजे मात्र सार्वजनिक गरिएको थियो । तर आधिकारिक सूचना सार्वजनिक भइसकेपछि पनि मनगढन्ते सूचना सम्पे्रषण गर्ने क्रम भने रोकिएन ।

यस्तो अवस्थामा नेपालमा पनि अन्तर्राष्ट्रियस्तरमा पुग्ने टेलिभिजनको आवश्यकता महसुस गरिएको थियो । अङ्ग्रेजी भाषामा प्रसारण हुने अन्तर्राष्ट्रिय च्यानल नेपालमा पनि भएको भए त्यतिखेर भारतीय टेलिभिजनको झुठो समाचार क्षणभर टिक्न सक्दैनथ्यो भन्ने महसुस जनस्तरमा समेत गरिएको थियो । यस्तो अनुभव लामो समयदेखि हुँदै आइरहेको छ । भारतीय टेलिभिजनहरूले तत्कालीन राजा स्वर्गीय वीरेन्द्रलाई वीरेन्द्र सिंह भनी समाचारमा उल्लेख गरेको छ । विशेष गरी भारतीय सञ्चार माध्यमहरूले पित पत्रकारिताको नमुना देखाउने गरेका छन् ।

२०५२ सालदेखि भएको १० वर्षे माओवादी जनयुद्ध र २४० वर्षदेखि चलिरहेको शाहवंशीय शासनको अन्त्य भई सङ्घीय गणतन्त्रको स्थापनाको बेला पनि नेपालका समाचारको समाचारीय मूल्य बढेको थियो ।

२०७२ सालको भूकम्प वा नेपालमा नयाँ संविधान जारी भएको बेला नेपालका धेरै समाचार अन्तर्राष्ट्रिय समाचारमा आए पनि विश्वसनीयता भने प्रश्न उठाउने खालको देखिएको थियो ।

पछिल्लोपटक नेपाल सरकारले सार्वजनिक गरेको नयाँ नक्सा, प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् रामको जन्मभूमि सम्बन्धमा व्यक्त गर्नुभएको धारणा सम्बन्धमा भारतीय टेलिभिजनहरूले पित पत्रकारिताको परकाष्टा नै प्रस्तुत गरे । नेपालका केवल टेलिभिजन व्यवसायीहरू भारतीय समाचार च्यानल नेपालमा प्रतिबन्ध लगाउनसमेत बाध्य बनेका थिए । यस्तो अवस्थामा अन्तर्राष्ट्रिय जगत्लाई सही सूचना सम्प्रेषण गर्न सकिने नेपालको आफ्नै माध्यमको आवश्यकता महसुस गरिएको छ ।

नेपाल टेलिभिजनले प्रसारण सुरु गरेदेखि नै विभिन्न महìवपूर्ण अवसरहरूमा विभिन्न मुलुकका दर्शकका लागि समेत प्रसारण गर्दै आइरहेको छ । सन् १९८८ मा विश्वको सर्वोच्च शिखर सगरमाथामा चीन, जापान तथा नेपालका आरोहीद्वारा गरिएको संयुक्त आरोहणको नेपाल टेलिभिजनले दिनभर प्रत्यक्ष प्रसारण गरेको थियो ।

जसको कारण दर्शकहरूले हिमाल चढेको प्रत्यक्ष हेर्न पाएका थिए । यस्तै सन् १९८७, २००२ तथा २०१४ मा नेपालमा आयोजित सार्क शिखर सम्मेलनको उद्घाटन तथा समापन समारोहमा सार्क क्षेत्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरूले गर्नुभएको सम्बोधनको प्रत्यक्ष प्रसारण गरी दक्षिण एसियाको सबै मुलुकका दर्शकसमक्ष पु¥याइएको थियो । नेपाल टेलिभिजनले सन् १९९९ तथा सन् २०१९ मा नेपालमा आयोजित दक्षिण एसियाली खेलकुदका उद्घाटन र समापन समारोहका साथै विभिन्न खेलका प्रत्यक्ष प्रसारण गरेको थियो ।

माल्दिभ्सले कुनै दिन आफ्नो देश डुब्न सक्ने सन्देश विश्वलाई दिन समुन्द्रमुनि मन्त्री परिषद्को बैठक गरेपछि नेपालले पनि सेता चाँदीजस्ता हिमाल काला चट्टानमा परिणत हुँदै गएको भनी जलवायु परिवर्तन सम्बन्धमा विश्वको ध्यानाकर्षण गर्न २०६६ साल मङ्सिर १९ गते ५ हजार २०० मिटरको उचाइमा मन्त्रिपरिषद्को बैठक गरेको थियो । सगरमाथाको आधार शिविर नजिक कालापत्थर बैठकमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसहित २२ जनाको सहभागिता थियो । मन्त्रिपरिषद्को निर्णय सगरमाथा घोषणापत्र विश्वव्यापी बनाउन नेपाल टेलिभिजनले तीन दिनसम्म प्रत्यक्ष प्रसारण गरेको थियो । यसैगरी सन् २०१८ मा नेपालमा आयोजित बिमस्टेक शिखर सम्मेलनका साथै अन्य अन्तर्राष्ट्रिय सभा सम्मेलनको नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्दै आइरहेको छ ।

नेपाल टेलिभिजनको विश्वसनीयता पनि कम छैन । नेपालमा भएका महìवपूर्ण घटनाहरूमा नेपाल टेलिभिजनबाट प्रसारण भएका समाचारलाई आधार बनाएर विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले कैयौँपटक समाचार बनाएका उदाहरण छन् । स्याटलाइटको माध्यमबाट सञ्चालित नेपाल टेलिभिजनका विभिन्न पाँच वटा च्यानल विश्वका १४६ मुलुकमा पुगिसकेका छन् । नेपालबाट प्रसारण भइरहेका अन्य निजी टेलिभिजन पनि स्याटलाइटको माध्यमबाट विभिन्न देशमा हेर्न सकिन्छ ।

यसैगरी अनलाइनको माध्यमबाट पनि विभिन्न मुलुकमा बस्ने दर्शकहरूले नेपाली टेलिभिजनहरू हेर्ने अवसर पाइरहेका छन् । जसबाट विश्वका विभिन्न मुलुकमा छरिएर रहेका नेपालीहरू लाभान्वित भइरहेका छन् । तर नेपालबाट अहिलेसम्म अन्तर्राष्ट्रिय भाषामै आधारित भएर कुनै टेलिभिजन प्रसारण हुन सकेको छैन ।

नेपाल टेलिभिजनले आफ्नो प्रसारणको प्रारम्भिक दिनदेखि नै अङ्ग्रेजी भाषामा पनि समाचार प्रसारण गर्दै आइरहेको छ । बेलाबखत अङ्ग्रेजी भाषामा समसामयिक कार्यक्रम तथा ‘टक सो’ हरू पनि सञ्चालन गरिएका छन् ।

हाल अङ्ग्रेजी भाषामा दिनहुँ चारपटक समाचार बुलेटिन प्रसारण गर्ने गरिएको छ । तर अधिकांश समय नेपाली भाषाका कार्यक्रम प्रसारण हुने हुनाले अन्तर्राष्ट्रिय दर्शकहरूलाई आकर्षित गरिरहन नसकिने तितो यथार्थ छ ।

यस्तो अवस्थामा अन्तर्राष्ट्रिय नेपाली टेलिभिजनको स्थापना छिटो गर्न सरकारी सक्रियता अपेक्षित छ । हाल नेपाल टेलिभिजनको सिंहदरबार, इटहरी र कोहलपुर गरी तीन वटा स्टेसनबाट बेग्लाबेग्लै समाचार बुलेटिन प्रसारण भइरहेको भए पनि अङ्ग्रेजी भाषाकै पूरै स्टेसन सञ्चालन नभएसम्म विश्वका दर्शक लाभान्वित हुन सक्दैनन् ।

सुरुका प्रयत्न
नेपाल टेलिभिजनका संस्थापक अध्यक्ष तथा महाप्रबन्धक नीरविक्रम शाहले नेपाल टेलिभिजनको नियमित प्रसारण सूचारु भइसकेपछि एनटीभी इन्टरनेसनलको अवधारणा ल्याउनुभएको थियो । त्यतिखेर अन्तर्राष्ट्रिय कार्यक्रमहरू उत्पादन गरी विभिन्न मुलुकका टेलिभिजनहरूलाई बिक्री गर्ने तथा कर्मचारीहरूलाई सेयर बिक्री गरिनेजस्ता लक्ष्य राखिएको थियो । तर विभिन्न व्यावहारिक कठिनाइका कारण यो कार्य हुन सकेन ।

आर्थिक वर्ष २०७६/७७ को वार्षिक बजेटमा यस कार्यका लागि बजेट विनियोजन नगरिएको भए पनि आवश्यक तयारी भने भइरहेको छ । नेपाल टेलिभिजनले यसै आर्थिक वर्षमा एनटिभी वल्र्ड नामक च्यानल सुरु गर्ने लक्ष्य राखे पनि कोरोना भाइरसको महामारीका कारण योजना केही पर सर्न गएको जानकारी नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले दिनुभयो ।

नेपाल टेलिभिजनले यससम्बन्धी विस्तृत योजना प्रतिवेदन तयार पारिसकेकोले सरकारबाट बजेट प्राप्त भएमा छ महिनाभित्र अन्तर्राष्ट्रिय टेलिभिजन च्यानलको सुरुआत गर्न सकिनेमा उहाँ दृढ हुनुहुन्छ ।

अन्तर्राष्ट्रिय च्यानलको अभ्यास
चीनले अहिले आफ्नो आधिकारिक धारणा विश्वसमक्ष पुर्‍याउन विभिन्न अन्तर्राष्ट्रिय भाषामा टेलिभिजन प्रसारण गरिरहेको छ । यस कार्यका लागि बेग्लै संस्था स्थापना गरिएको छ ।

चीनको सरकारी टेलिभिजन सिसिटिभीको अन्तर्राष्ट्रिय विभागका रूपमा सन् २०१६ को डिसेम्बर ३१ तारिखका दिन चाइना ग्लोवल टेलिभिजन नेटवर्क सिजिटिएनको स्थापना भएको थियो । यसले अङ्ग्रेजी, स्पेनिस, फ्रान्सेली, अरबी, रसियाली भाषाका साथै वृत्तचित्र प्रसारण गर्नेगरी विभिन्न छ वटा टेलिभिजन च्यानल सञ्चालन गरिरहेको छ ।

यी टेलिभिजन विश्वका १७० भन्दा बढी मुलुकमा हेर्न सकिन्छ भने अनलाइनको माध्यमबाट यसका प्रसारण विश्वमा पुगिरहेका छन् । सामाजिक सञ्जालका विभिन्न माध्यमबाट समेत विश्वभरिका दर्शकहरू समेत पहुँच विस्तार गर्न सफल भइसकेको सिजिटिएन संस्थाको प्रधान कार्यालय चीनको बेइजिङमा रहेको छ भने नैरोबी, वासिङ्गटन र लण्डनमा उत्पादन केन्द्रहरू रहेका छन् । जापानको एनएचके वल्र्ड अन्तर्राष्ट्रिय सञ्चार माध्यम हो । विश्वका दर्शक तथा श्रोताहरूलाई टेलिभिजन, अनलाइन तथा रेडियोको माध्यमद्वारा जापान तथा एसियाका ताजा सूचना यसले प्रदान गर्ने गर्छ ।

भारतको सरकारी टेलिभिजन दूरदर्शनले सन् १९९५ देखि अङ्ग्रेजी भाषामा डिडी इन्टरनेसनल नामक अन्तर्राष्ट्रिय च्यानलको प्रसारण सुरु गरेको थियो । सन् २००० मा डिडी वल्र्ड तथा सन् २००२ मा डिडी इण्डिया नाम परिवर्तन गरिएको यो च्यानलमार्फत भारत सरकारको आधिकारिक धारणा विभिन्न १४६ मुलुकका दर्शकसमक्ष पु¥याउने गरिन्छ । पाकिस्तानको सरकारी टेलिभिजन पिटिभीद्वारा २४ घण्टा प्रसारण भइरहेको पिटिभी वल्र्ड अन्तर्राष्ट्रिय च्यानल हो । सन् १९९२ मा सुरु गरिएको पिटिभी–२ लाई सन् १९९८ मा पिटिभी वल्र्डमा परिवर्तन गरिएको थियो । यो च्यानलले प्रत्येक घण्टा अङ्ग्रेजी भाषामा समाचार प्रसारण गर्नुका साथै समसामयिक ‘टक सो’ हरू सञ्चालन गर्ने गर्छ ।

नेपालको प्रचारको माध्यम
नेपालमा सन् १९९८ र २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाइँदा नेपाललाई विदेशी टेलिभिजनमार्फत विज्ञापनका रूपमा प्रवद्र्धन गर्दा करोडौँ रुपियाँ खर्च भएको थियो ।

विदेशी टेलिभिजनलाई नेपालमा वृत्तचित्र बनाउन दिँदा आफ्नै हिसाबले बनेका कार्यक्रमले नेपालको गलत प्रचारसमेत भएका उदाहरण छन् । जस्तो कि एउटा विदेशी टेलिभिजनले नेपालमा गलैँचा बनाउँदा बालश्रमिकको प्रयोग गरिन्छ भनेर उल्लेख गर्‍यो। यसले नेपालको गलैँचा व्यापार ठप्प भयो । यो यथार्थ नेपालीले अझै भुलेका छैनन् ।

त्यसैले नेपालमा अङ्ग्रेजी भाषाको टेलिभिजन सुरु भएमा विश्व बजारमा नेपालको प्रचारप्रसार गर्न सकिनेछ । यस कार्यले नेपालमा घटेको पर्यटन व्यवसायलाई फेरि पुरानै स्थितिमा फर्काउन सहयोग पनि गर्नेछ ।

सञ्चारको अत्यधिक विकासको कारण विश्व नै एउटा गाउँको रूपमा परिणत हुँदै गइरहेको छ । ‘ग्लोवल भिलेज’ को यो अवधारणाबाट नेपाल अछूतो रहन सक्दैन । अन्तर्राष्ट्रिय भाषाका च्यानल सञ्चालन हुन सके विदेशी च्यानलहरूले नेपालविरुद्ध बेलाबखत गर्ने अनर्गल प्रचारलाई चिर्न सहयोग हुने त छँदैछ, मुलुकको प्रचारप्रसारमा पनि ठूलो योगदान पुग्नेछ । ( लेखक सिलवालको गोरखापत्रअनलाइनबाट साभार लेख)

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.