हरेक स्थानीय तहमा प्राविधिक विद्यालय सञ्चालन गरिन्छ : मुख्यमन्त्री पौडेल

हेटौंडा- वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हरेक स्थानीय तहमा कम्तीमा एउटा प्राविधिक शिक्षालय सञ्चालन गरिने बताउनुभएको छ । हेटौँडामा भूकम्पका कारण पूर्णरुपमा क्षति भई पुनःनिर्माण हुन लागेको महेन्द्र माध्यामिक विद्यालय पदम पोखरीको २१ कोठे भवन शिलान्यास गर्दै मुख्यमन्त्री पौडेलले श्रम बजारमा बिक्ने खालको शिक्षामा जोड दिनसके विद्यालयलाई बेरोजगार उत्पादन गर्ने थलोको रुपमा नभइ दक्षजनशक्ति उत्पादन गर्ने थलोको रुपमा बुझाउन सकिने धारणा राख्नुभयो । विद्यालयले ज्ञानसँगै सीपसमेत दिनसक्नुपर्ने उहाँको भनाइ थियो ।

पौडेलले प्राविधिक शिक्षामा पनि फरकपन दिनसक्नुपर्ने बताउनुभयो । प्राविधिक शिक्षाको नाममा जहाँ पनि एउटै विषय पढाउनेभन्दा पनि ठाउँ विशेषका आधारमा आवश्यकपर्ने शिक्षालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । प्राविधिक शिक्षामा जोड दिने विद्यालयलाई प्रदेश सरकारले सहयोग गर्नु पौडेलको भनाइ थियो ।

कार्यक्रममा वाग्मती प्रदेशका प्रदेशसभा सदस्य जुनेली श्रेष्ठले पदमपोखरी क्षेत्रको विकासमा प्रदेश सरकार र मुख्यमन्त्री पौडेलले खेलेको भूमिका उल्लेखय रहेको बताउनुभयो । पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ शिक्षाका प्रमुख बद्रीबहादुर पाठकले जापान सरकारको ऋण सहयोगमा मकवानपुरमा ४१ विद्यालय भवन पुनःनिर्माण भइरहेको बताउँदै अधिकांश भवनको पुनःनिर्माणकार्य सम्पन्न भइसकेको जानकारी दिनुभयो । उहाँले आजदेखि निर्माण प्रारम्भ भएको २१ कोठे भवन कर बाहेक रु पाँच करोड ३५ लाखमा सम्पन्न हुने निर्माण कम्पनी शर्मा जेभीसँग सम्झौता गरिएको बताउनुभयो । सम्झौतानुसार उक्त निर्माण कम्पनीले सन् २०२२ को अगस्ट ५ सम्ममा निर्माण सम्पन्न गरिसक्नुपर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.