एमालेमा दुवै पक्षको अडान कायम

नेपाल पक्षका नेता पन्त भन्छन्, ‘अध्यक्षले लिनुभएको प्रयास सकारात्मक छ’

काठमाडौं– नेकपा एमालेका शीर्ष नेताहरुबीच चार महिनापछि संवाद प्रयास सुरु भएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा सोमबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाललगायतका नेताहरुलाई बोलाएर छलफल सुरु गर्नुभएको हो । बैठकमा सहभागी नेता रघुजी पन्तले वार्ता सकारात्मक भएको प्रतिक्रिया दिनुभयो । ‘वार्ता सकारात्मकरुपमा भयो,’ उहाँले भन्नुभयो, ‘दुवै पक्षले आ आफ्ना अडान राख्यौं । अध्यक्षबाट जे प्रयास भएको सकारात्मक छ ।’

पन्तले अध्यक्ष ओलीले सकारात्मक प्रयास गर्ने अपेक्षा गर्नुभयो ।

बैठकमा नेपाल पक्षले गत फागुन २८ गतेको निर्णय फिर्ता लिन माग गरेका छन् । तर, अध्यक्ष ओलीले अस्वीकार गर्नुभएको छ ।

सर्वोच्च अदालतले नेकपाको कानूनी हैसियत नभएको र पुरानै दुई वटा पार्टी नेकपा एमाले तथा माओवादी केन्द्र रहने गरी फैसला गरेपछि देखिएको पार्टीभित्रको अन्यौल हटाउन एमालेका नेताहरु छलफलमा जुटेका हुन् । नेकपा एमाले भित्रको विवाद चरम उत्कर्षमा पुगेका बेला सहमतिको यो प्रयास भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत्र ७ गते केन्द्रीय समितिको बैठक बोलाउनुभएको र यसमा असन्तुष्ट पक्षको सहभागितका बारेमा विभिन्न चर्चा चलिरहेको बेलामा सोमबारको बैठकलाई महत्वपूर्ण मानिएको छ।

बैठकमा अध्यक्ष ओलीसहित वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्वय विष्णु पौडेल, घनश्याम भूसाल, नेता सुवासचन्द्र नेम्वाङ, सचिवहरु गोकर्ण विष्ट, प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, रघुजी पन्त सहभागी हुनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.